नेविसंघद्वारा बालेन र सुधनविरुद्ध प्रहरीमा उजुरी, तत्काल पक्राउ गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ‘बालेन्द्र’ र हामी नेपालका संयोजक सुधन गुरुङविरुद्ध पक्राउ गरेर कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएको छ ।

भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा बालेन र सुदनमाथि अनुसन्धानको माग गर्दै आइतबार नेविसंघले जिल्ला प्रहरी परिसर, काठमाडौं र ललितपुरमा उजुरी दिएको नेविसंघका नेता मनीषजंग थापाले बताए ।

उजुरीमा जेन–जीका नाममा विद्यार्थीहरूलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरूमाथि अनुसन्धान हुनुपर्ने माग नेविसंघले गरेको छ ।

उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह छन् । २४ घण्टाभित्र उजुरी दर्ता गरेर बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान गर्न नेविसंघले प्रहरीसँग माग गरेको छ ।

प्रहरीले भने सरकारी वकिलसँग राय परामर्श गरेर मात्रै उजुरी दर्ता गर्ने÷नगर्ने भन्न मिल्ने जवाफ नेविसंघलाई दिएको छ ।

सुधन गुरुङसहितका युवाहरूले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायत विरुद्ध जाहेरी दिएका थिए । त्यसलगत्तै नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।

Published : Sunday, 2025 October 12, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया