अख्तियारले छापामार्दा प्रदीप बिचौलियासँग लुक्लाको होटलमा, पोखरा १५ अर्ब भ्रष्टाचारको सक्कली फाइल कब्जा

काठमाडौं । झण्डै १५ अर्ब भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा सार्वजनिक लेखा समितिको कारबाही सिफारिसमा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छामारेको दिन लुक्लामा बास बसेको खुलेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा तत्कालीन आयोजना प्रमुख रहेका अधिकारीसँग अख्तियारले पटक पटक बयान लिइसकेको छ । संसदको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा झण्डै १५ अर्ब भ्रष्टाचार भएको ठहरसहित महानिर्देशक अधिकारीलाई मुख्य आरोपी बनाएर नेपाल सरकारका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेर पठाइसकेको छ ।

यसअघि, लेखा समितिले महानिर्देशक अधिकारीसँगै पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचार काण्डमा प्राधिकरणका निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेललाई निलम्बनसहित कारबाही सिफारिस गरिसकेको छ ।

पोखरा विमानस्थलसँग संलग्न सक्कली कागजपत्र अख्तियारले महानिर्देशक अधिकारीसँग पटक पटक माग गर्दा समेत नदिएपछि गत शुक्रबार अख्तियारको टोलीले प्राधिकरणको सिनामंगलस्थित केन्द्रीय कार्यालयमा छापामारेको अख्तियार निकट उच्च स्रोतले जनाएको छ ।

प्राधिकरणमा अख्तियारले छापामार्नुभन्दा एकदिन अगाडि बिहीबार नै महानिर्देशक अधिकारी फिस्टेल एयरको हेलिकप्टर लिएर लुक्का गएका थिए । फिस्टेल एयरका मालिक वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की हुन् । महानिर्देशक अधिकारीले हेलिकप्टरमा सर्वोच्च अदालतका एकजना पूर्वप्रधान न्यायाधीश, एकजना बिचौलियालाई पनि लिएर गएको स्रोतले जनाएको छ । अधिकारीको समूह यती एयरलाइन्सका मालिक फुर्वाग्याल्जेन शेर्पाको लुक्लामा रहेको होटलमा रात बिताएका थिए ।

अख्तियारको टोलीले पोखरा विमानस्थलसँग संलग्न सक्कल कागजपत्र माग गरेपछि कर्मचारीहरूले महानिर्देशक अधिकारी कार्यालयमा नभएका कारण दिन नसकिने भनेर जवाफ दिएका थिए । त्यसपछि अख्तियारका कर्मचारीहरूले ‘पटक पटक लिखित रुपमा सक्कल कागजपत्र माग गर्दा पनि नदिन, हामीहरू आएर माग गर्दा पनि कागजपत्र नदिने हो भने कर्मचारीहरूलाई नै उठाएर लैजान्छौँ’ भनेर चेतावनी दिएपछि कर्मचारीहरूले महानिर्देशक अधिकारीलाई फोन गरेर सबै कुराको जानकारी गराएको अख्तियार उच्च स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीले अख्तियारको टोलीलाई आइतबार आउन भनेका थिए । अख्तियार टोलीले आइतबार आउन मानेनन् । महानिर्देशक अधिकारीलाई अख्तियारको टोलीले शुक्रबार नै सक्कल कागजपत्र नदिने हो भने प्राधिकरणका कर्मचारीहरूलाई उठाएर लैजान्छौं भन्ने धम्की दिएपछि कर्मचारीहरूले पोखरा विमानस्थलसँग सम्बन्धित सक्कल कागजपत्र दिएको स्रोतले जनाएको छ ।

अख्तियारले छापामारेपछि असिनपसिन भएका महानिर्देशक अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भनसुन गरेर आफूलाई पोखरा विमानस्थलको झण्डै १५ अर्बको भ्रष्टाचारबाट बचाउन बिचौलिया र ती पूर्वप्रधान्यायाधीशसँग अनुरोध गरेको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीले लुक्लातर्फ लगेको फिस्टेल एयरको हेलिकप्टरलाई कहाँबाट पैसा लिएर भाडा तिरेर लगेका हुन् ? खुलेको छैन । लुक्लामा हेलिकप्टर चार्टर गर्दा ५/६ लाख रुपियाँ पर्छ ।

उता, महानिर्देशक अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको पुरानो रनवेलाई लिंक ट्याक्सी वे बनाउन सेटिङमा एकजना पूर्वप्रधान न्यायाधीशका छोरालाई ४ अर्बको ठेक्का दिएका छन् । छोरालाई ठेक्का दिएर पोखराको १५ अर्ब भ्रष्टाचारबाट बच्न सकिन्छ की भनेर सोँच बनाएका महानिर्देशक अधिकारीलाई अख्तियारले छाड्ने सम्भावना छैन ।

Published : Sunday, 2025 October 12, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया