सभापति देउवाको विकल्प खोज्ने अवस्था छैन, अस्तिसम्म ठीक अहिले बेठीक हुँदैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको भन्दै राजनीतिक कायम राख्ने बताएका छन् ।

शुक्रबार बसेको कांग्रेसका पदाधिकार र पूर्वपदाधिकारीहरूको बैठकमा नेता सिटौलाले राजनीतिक रूपमा कांग्रेसले गरेको निर्णय सर्वथा उचित भएको भन्दै यसकै लागि संसद् पुनर्स्थापनाको निवेदन लिएर सर्वोच्च नजाने बताएका छन् । स्रोतका अनुसार सिटौलाले संवैधानिक अंग र अदालतलाई समेत भौतिक रूपमा ठूलो क्षति भएको बताए । उनीहरूमाथि थप दबाब सिर्जना गर्ने काम कांग्रेसले गर्न नहुने सिटौलाले बताए । उनले सरकारका गतिविधि निर्वाचनको वातावरण निर्माणमा भन्दा अन्यन्त्रै केन्द्रित रहेको भन्दै त्यसलाई सच्याउनेमा कांग्रेसको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

सरकार ठीक बाटोमा नहिँड्दा पनि त्यसको संकट गहिरिने र भोलिको दिनमा सम्हालिनसक्नुको परिस्थिति निर्माण हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए । ‘अबको पाँच महिनाभित्र निर्वाचन हुन्छ भनेर विश्वास गर्न सकिने अवस्था छैन,’ सिटौलाले भने, ‘खरानीमाथि अदालत छ, संसद् पुनर्स्थापनाको फैसला कसरी दिन्छ ?’

सिटौलाले प्रहरीका लुटिएका हतियार फिर्ता नगर्नु, तोडफोडमा संलग्नलाई पक्राउ गरेपछि पनि गृहको आदेशमा छाड्नु, राजनीतिक पार्टीका नेताहरूमाथि धम्की दिनु तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई धम्की दिने भाषा सरकारका पदाधिकारीसँगको भेटका नाममा सार्वजनिक हुनुले विश्वासको वातावरण धमिल्याएको बताएका छन् ।

नेता सिटौलाले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले अहिले सभापति देउवाको विकल्प खोज्नु बेठीक हुने बताए ।

नेताले सिटौला सभापति देउवालाई पदमुक्त गर्ने पक्षमा नदेखिएको बताए । उनले भने, ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ? विकल्प खोज्नु पर्ने अवस्था अहिले म देख्दिन ।’

पार्टी पुर्नगठन गरी नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने विचार आइरहेको बेला सिटौलाले खुलेर सभापति देउवाको पक्षमा धारणा राखेका हुन् ।

देउवाको विकल्प खोज्ने नेताहरुलाई सिटौलाको प्रश्न थियो, ‘अस्तिसम्म शेरबहादुर देउवा ठीक अहिले बेठीक कसरी हुन्छ ? अहिले नै उहाँको छोड्नु पर्ने भन्ने किन ?’

प्रवक्ता डा.प्रकाशशरण महतले पनि सभापतिको पक्षमा विचार राखेका छन् । कार्यसम्पादन समिति सदस्य उमा रेग्मीले चितवनमा गाउँगाउँका कार्यकर्तासँग कुराकानी गरेको बताउँदै नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने बताइन् । विधानमै भएको व्यवस्था बमोजिम महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गरेको कसरी बेठीक हुन्छ भनेर उनले प्रतिवाद गरेकी थिइन् ।

नेता बलबहादुर केसीले तत्काल विशेष महाधिवशेनको सम्भावना नरहेको बताएका छन् । उनले नियमित महाधिवशेन गर्नका लागि समय अभाव रहेको र विशेष महाधिवेशन पनि हुन नसक्ने बताए ।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन गराउने एजेण्डालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले भने, ‘प्रतिनिधि सभा पुनस्र्थापना अदालतको विषय हो, हाम्रो प्राथमिकता यो होेइन, निर्वाचन हो ।’

मुलुक अप्ठ्यारोमा पर्दा सधैं कांग्रेसले नेतृत्वदायी भूमिका खेल्दै आएको पृष्ठभूमि सम्झदै कार्कीले पार्टीले निर्वाचनको बातावरण निर्माणमा जोड दिनुपर्ने बताए । ‘निर्वाचन घोषणा भइसकेको छ, कांग्रेसले ताजा जनादेशबाट भाग्न मिल्दैन,’ उनले भने, ‘यसलाई कसरी स्वतन्त्र, निष्पक्ष र धाधलीरहित बनाउन सकिन्छ । त्यस तर्फ दबाब दिनुपर्छ ।’

कार्कीले विशेष महाधिवेशनको आवश्यकता नरहेको बताए । ‘विशेष महाधिवेशनको आवश्यकता छैन, यसले पार्टीभित्र ठूलो मतभेद सिर्जना गर्दछ,’ कार्कीले भने, ‘निर्वाचन पछि तुरुन्त नियमित अधिवेशन सम्पन्न गर्नुपर्छ ।’

जेनजी विद्रोहका क्रममा पार्टीका सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि भएको कुटपिटलाई सामान्य रुपमा लिन नहुने नेता कार्कीले बताएका छन् । त्यो कुटपिटको घटनालाई उनले लोकतन्त्र र कांग्रेसमाथिको आक्रमण भएको बताए ।

‘सभापति देउवामाथि र तत्कालीन परराष्ट्रमन्त्री डा.राणामाथि जुन किसिमको आक्रमण भयो, त्यो लोकतन्त्र र कांग्रेस माथिकै आक्रमण हो,’ कार्कीले भने ।

Published : Saturday, 2025 October 11, 12:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया