मल्लको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमायो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व सभापति गोविन्दबहादुर मल्लको ७८ वर्षको उमेरमा निधन भएको छ ।

जिल्ला विकास समिति, सर्खेतका तत्कालीन सभापति समेत रहेका मल्लको बिहीबार बिहान ३ बजे बाँकेको कोहलपुरमा उपचारका क्रममा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । पूर्वसभापति मल्लको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

स्व.मल्लले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मल्लको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति गोविन्दबहादुर मल्लको निधनको खबरले मलाई दुखित् बनाएको छ,’ देउवाले भने ।

‘स्व.मल्लले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको सक्रिय भूमिका सदा स्मरणीय रहनेछ,’ सभापति देउवाले भने, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।’

‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ सभापति देउवाले भने ।

Published : Thursday, 2025 October 9, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया