बाढी, पहिरो र डुबानमा परेकाहरूकाे उद्धार, राहत र पुनर्स्थापनामा एकजुट भएर खटिन कांग्रेस भ्रातृ संस्थाहरूकाे अपील

काठमाडाैं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले देशभर जारी बाढी, पहिरो र डुबानका कारण सिर्जित विपदको अवस्थामा उद्धार, राहत र पुनर्स्थापनामा एकजुट भएर खटिन सबैलाई अपील गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरुको संयुक्त बैठकपछि जारी अपीलमा देशभरको जनजीवन प्रभावित भएकाले एकता र सतर्कता आवश्यक रहेको उल्लेख गरिएको छ ।

भ्रातृ संस्थाहरूले युवाहरूमार्फत ‘स्वयंसेवी समूह’ गठन गरी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य सञ्चालन गर्ने निर्णय गरेको बैठकले जनाएको छ । प्रभावित जिल्लाहरूमा समन्वय, सहजीकरण र स्वयंसेवामा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरिएको छ ।

अपीलमा विशेष गरी कोशी र मधेश प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । इलाम, पाँचथर, रसुवा, उदयपुर, रौतहटलगायत जिल्लामा भएका ठूलो जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक आत्माको चीर शान्तिका लागि प्रार्थना गरिएको छ ।

भ्रातृ संस्थाहरूले वृद्धवृद्धा, बिरामी, अशक्त, अपांगता भएका व्यक्ति, बालबालिका, गर्भवती र सुत्केरीको सुरक्षालाई पहिलो प्राथमिकता दिन सरकार र स्वयंसेवकलाई आग्रह गरेका छन् ।

सडक अवरुद्ध भएर बाटोमा अलपत्र परेका यात्रुहरूको शीघ्र उद्धार गरी गन्तव्यसम्म पुर्‍याउन, बाढी–पहिरोमा बेपत्ता भएकाहरूको खोजी र घाइतेको उपचार तत्काल सुनिश्चित गर्न सरकारलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

अपीलमा किसान र श्रमिकले झन् ठूलो कठिनाइ व्यहोर्नुपरेको भन्दै कृषिजन्य क्षतिको विवरण संकलन गरी तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरिएको छफ।

‘विपत्तीको यस घडीमा सबैखाले मतभेदलाई थाती राखेर उद्धार, राहत र पुनर्स्थापनामा जुटौं,’ अपीलमा भनिएको छ ।

संयुक्त अपीलमा नेपाल महिला संघकी अध्यक्ष उषा राउत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्मालगायत १४ भ्रातृ संस्थाका अध्यक्षहरूका हस्ताक्षर रहेका छन् ।

000

१९ असोज २०८२
इलाम लगायतका जिल्लामा भएको मानवीय क्षतिमा
दु:ख व्यक्त गर्दै, थप तदारुकताको अपील

भारी बर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पुरै देशलाई मर्माहत बनाएको छ l सबैभन्दा बढी इलाम र त्यसपछि रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको मृत्युका घटनाप्रती नेपाली काँग्रेस गहिरो दु:ख व्यक्त गर्दछ l दिवंगत सबैको आत्माको शान्ति कामना गर्दै, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं l

थप मानवीय क्षती हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेविहरुमा बिशेष अपील गर्दछौं l विपदको यो घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरुको सुरक्षामा सहयोग गर्नु हामी सबैको कर्तव्य हो l यो कर्तव्यमा अझ एक्यवद्ध भएर उद्वार, राहत र पुनर्स्थापनाको कार्यमा प्रबल ढंगले सहभागी हुन सबै राजनैतिक दल, भ्रातृ संस्थाहरू, स्थानीय निकायमा रहेका जनप्रतिनिधिहरु र स्थानीय स्वयंसेविहरुलाई अपील गर्दछौं l

यसैबीच आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरुको विपद केन्द्रित बिशेष बैठक´ बस्यो l महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकले- विपदसँग जुध्न भ्रातृ संस्थामा आवद्ध युवाहरूको `स्वयंसेवि समुह´ मार्फत कार्य गर्ने निर्णय गरेको छ´ l ठाउँठाउँमा भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रुपमा परिचालित भइसकेका छन्, थप सक्रियताका लागि नेपाली काँग्रेस अपील गर्दछ l

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्यसचिव

Published : Monday, 2025 October 6, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया