मानवीय क्षतिप्रति कांग्रेस मर्माहत, विपदसँग जुध्न भ्रातृ संस्थामा आवद्ध युवाहरूको स्वयंसेवी समूह मार्फत कार्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले इलाम लगायतका जिल्लामा भएको मानवीय क्षतिमा दु:ख व्यक्त गर्दै थप तदारुकताका साथ उद्वार र राहतमा खटिन अपील गरेको छ ।

आइतबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरेर भने, `भारी बर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको छ l सबैभन्दा बढी इलाम र त्यसपछि रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको मृत्युका घटनाप्रती नेपाली काँग्रेस गहिरो दु:ख व्यक्त गर्दछ l दिवंगत सबैको आत्माको शान्ति कामना गर्दै, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं l´

थप मानवीय क्षती हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेविहरुमा बिशेष अपील गर्दछौं l विपदको यो घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरुको सुरक्षामा सहयोग गर्नु हामी सबैको कर्तव्य हो,´ कांग्रेसले भनेकाे छ, `यो कर्तव्यमा अझ एक्यवद्ध भएर उद्वार, राहत र पुनर्स्थापनाको कार्यमा प्रबल ढंगले सहभागी हुन सबै राजनैतिक दल, भ्रातृ संस्थाहरू, स्थानीय निकायमा रहेका जनप्रतिनिधिहरु र स्थानीय स्वयंसेवीहरूलाई अपील गर्दछौं l´

यसैबीच आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको विपद केन्द्रित बिशेष बैठक बसेकाे छ । महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकले विपदसँग जुध्न भ्रातृ संस्थामा आवद्ध युवाहरूको `स्वयंसेवी समूह´ मार्फत कार्य गर्ने निर्णय गरेको छ l

ठाउँठाउँमा भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रुपमा परिचालित भइसकेकाे भन्दै कांग्रेसले थप सक्रियताका लागि नेपाली कांग्रेस अपील गरेेकाे छ ।

Published : Sunday, 2025 October 5, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया