कुलमानको दोस्रो प्रतिशोधपूर्ण निर्णय, तत्कालीन समयमा शून्य अंक दिने सहसचिवलाई हटाए
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले निरन्तर प्रतिशोधपूर्ण निर्णय र गतिविधिहरू गरिरहेका छन् ।
सुशीला कार्की नेतृत्वको म्यादी सरकारका उर्जामन्त्री घिसिङले एकपछि अर्को गर्दै प्रतिशोधपूर्ण निर्णयहरू गरेपछि सामाजिक सञ्जालमा आलोचना भइरहेका छन् । मन्त्री घिसिङका निर्णयहरूको नागरिक समाज र सर्वसाधारणहरूले विरोध गरिरहेका छन् ।
उर्जामन्त्री बनेर आउनेवित्तिकै मन्त्री घिसिङले सबैभन्दा पहिला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई हटाए । घिसिङ कार्यकारी निर्देशक रहेका बेला ओली सरकारले घिसिङलाई हटाएर शाक्यलाई ल्याएको थियो ।
शाक्य कार्यकारी निर्देशक बनेर आएपछि घिसिङले पदबाट राजीनामा दिएका थिए । जेनजी आन्दोलनपछि बनेको सरकारमा घिसिङ उर्जामन्त्री बनेपछि आफ्ना विरोधीहरूलाई छानिछानी कारबाही गर्नुका साथै हटाउने कार्यहरू गरिरहेका छन् ।
मन्त्री घिसिङले शाक्यलाई हटाएर आलोचना खेपीरहेका बेला तत्कालीन समयमा आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कार्यरत हुँदा कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिने सहसचिव जीवछ मण्डललाई पदबाट हटाएका छन् ।
विद्युत विकास विभागको महानिर्देशक पदमा रहेका मण्डललाई मन्त्री घिसिङले कारबाहीको शैलीमा ऊर्जा आयोगमा सरुवा गरेका छन् । मण्डललाई हटाउने मन्त्री घिसिङको निर्णयको कर्मचारीहरूले विरोध गरिरहेका छन् ।
उता, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाली कांग्रेस र एमालेका नेताहरूमाथि प्रतिशोधपूर्ण अभिव्यक्तिहरू दिइरहेका छन् । उर्जामन्त्री घिसिङले आफ्ना विरोधीहरूलाई प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया