देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरू, यो त महाअपराधिक घटना, क्रियाकलाप हो : केपी ओली
काठमाडौं । एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते ५ मिनेट मात्रै ढिला भएको भए आफू मारिने अवस्था रहेको बताएका छन् ।
शुक्रबार एमालेका नेता, कार्यकर्ताहरूसँगको भेटमा ओलीले बालुवाटारमा आफू ५ मिनटको अन्तरमा बाँचेको बताए । ओली भक्तपुरको गुण्न्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।
ओलीले भदौ २४ गतेका दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई चाहिँ घाइते मात्र बनाउने तर, आफूलाई मार्ने नै योजना रहेको बताए ।
उनले भने, ‘पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए । शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाईचाहिँ मार्ने खालकै योजना रहेछ । मार्न खोजेका हुन् तर, पाएनन् ।’
‘अर्को मैले आफ्नो तयारी पनि गर्न पाइनँ । सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो । तर, हामी केही पनि गर्न सक्दैनौँ भनेर अन्तिममा सेनाले भगाइसम्म दियो,’ ओलीले भने, ‘त्यहाँबाट निकाल्यो भनौँ न । नत्र त पाँच मिनेटभित्र मार्ने नै रहेछ । त्यो अवस्थाबाट पनि जोगिया छ ।’
ओलीले भने, ‘देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरू यो त महाअपराधिक घटना, क्रियाकलाप हो । यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौँ ।’
‘एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउने, यसपल्ट त हाम्रोचाहिँ अलिकति कमजोरी भयो,’ उनले भने, ‘यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन । तर, देशद्रोही तत्वहरू, अपराधी तत्वहरू विभिन्न ठाउँ–ठाउँमा पनि पुग्या रहेछन् ।’
भ्रष्टाचारविरुद्ध भदौ २३ गते जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोलीबाट १९ युवा मारिएपछि भोलिपल्ट भदौ २४ गते आन्दोलन अझ उग्र बनेको थियो । प्रदर्शनकारी सरकारी तथा नेताका घर तोडफोड र आगजनीमा उत्रिएका थिए ।
प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणालाई कुटिपट गरेर हत्याको प्रयास गरेका थिए । भक्तपुरको बालकोटमा रहेको एमाले अध्यक्ष ओलीको निवास पनि प्रदर्शनकारीले जलाएका थिए ।
तत्कालीन प्रधानमन्त्री ओली र मन्त्रीहरूलाई सेनाले हेलिकप्टरबाट उद्दार गरेर जोगाएको थियो । नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी उनीहरूलाई शिवपुरी लगेर राखेको थियो । कांग्रेसका सभापति देउवा र डा.राणा नभागेर आफ्नै निवासमा बसेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया