असोज ३ गते सार्वजनिक बिदाको दिन घाइते देउवा दम्पत्तिले राहदानी लिए रे, जो मर्न तयार भयो, उनीहरू किन भाग्ने विदेश ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ डा.आरजु राणालाई आफूहरूमाथि आक्रमण हुँदैछ भन्ने जानकारी पाउँदापाउँदै घर छाडेर भागेनन् ।
हतियारधारी अराजक समूह घरभित्रै प्रवेश गरेर सांघातिक आक्रमण गरेर हत्या प्रयास हुँदा समेत नडराएका सभापति देउवा र नेतृ डा.राणा भाग्न लागे भनेर भ्रामक समाचारहरू प्रसारण, प्रकाशन भइरहेका छन् । सांघातिक हमलाबाट गम्भीर घाइते भएपछि उपचाररत देउवा दम्पत्तिमाथि निरन्तर सुनियोजित र प्रायोजित रुपमा प्रहार भइरहेको छ । देउवा दम्पत्तिले असोज ३ गते नयाँ पासपोर्ट बनाएको भनेर समाचारमा उल्लेख छ । जबकी असोज ३ गते संविधान दिवसका अबसरमा सार्वजनिक बिदा थियो । बिदाको दिन नयाँ पासपोर्ट बनाएर थाइल्याण्डको भिसा कसरी लाग्यो गम्भीर प्रश्न उठेको छ । समाचार लेख्ने, लेखाउने र समाचार प्रकाशित गर्नेहरूले यो विषयलाई किन गम्भीरतापूर्वक लिएनन् ? देउवा दम्पत्तिमाथि निरन्तर किन प्रहार भइरहेको छ ? कसका लागि प्रहार भइहेको छ ?
सभापति देउवा प्रजातन्त्रका लागि निरन्तर संघर्ष गरेको व्यक्ति हुन् । प्रजातन्त्रका लागि जेलमा पटक पटक बसेका छन् । आन्दोलनका क्रममा टाउकोमा लाठी खाएका छन् । तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहले शाही आयोगमार्फत भ्रष्टाचारको झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेकै हुन् । देउवा दम्पत्ति त्यो बेला भागेनन्, अहिले भाग्ने भन्ने प्रश्नै आउँदैन ।
अहिले पनि सुशीला कार्की नेतृत्वको संविधानभन्दा बाहिरको सरकारले सभापति देउवामाथि निरन्तर प्रहार गरिरहेको छ । सभापति देउवा बोलेका छैनन् । उनी धेरै बोल्ने व्यक्ति पनि होइनन् । समय आयो भने त्यसको उचित जवाफ दिनेछन् ।
बिहीबारको अंकमा ‘सेतोपाटी डटकम’ जस्तो नाम चलेको अनलाइनले पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवा र डा.राणा थाइल्याण्ड भाग्न लागेको भनेर स्रोतलाई हवाला दिएर समाचार लेखेको छ । सेतोपाटी डटकम किन र केका लागि सभापति देउवा र डा.राणामाथि निरन्तर प्रायोजित रुपमा लागेको छभन्ने कुरा धेरैले बुझेका छन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाको पक्षमा निरन्तर सकारात्मक र मुखपत्रले जस्तै गरी समाचार छाप्दै आएको सेतोपाटीलाई आरोप लागेका बेला देउवा दम्पत्तिबारे राहदान बनाएर थाइल्यान्ड भाग्न लागेको भनेर समाचार प्रकाशित गरेपछि कांग्रेसका नेता, कार्यकर्ताहरू चकित परेका छन् ।
सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूले सभापति देउवा र डा.राणालाई पटक पटक घर छाडेर सुरक्षित स्थानमा जान भदौ २४ गते बिहानै भनेका थिए । देउवा र डा.राणाले घर छाडेर जान मानेनन् । उनीहरूले लोकतन्त्रमा ढुङ्गामुढा हुन्छ, गाली गर्छन्, आक्रोश पोख्छन्, त्यो जनताको अधिकार हो भनेर घर छाडेर भागेनन् । सुरक्षाकर्मीहरू र आफन्तहरूले पटक पटक आग्रह गर्दा पनि नमानेर घरमै बसेका कारण सभापति देउवा र नेतृ डा.राणाको ज्यान लिने उद्देश्यले सांघातिक आक्रमण भएको थियो ।
देउवा दम्पत्ति नेपाली सेनाको निगरानीमा उपचाररत छन् । उनीहरू विदेश भाग्नुपर्ने अवस्था छैन । भाग्नु नै थियो भने भदौ २३ वा २४ गते नै भग्ने थिए । उनीहरूलाई देश छाडेर वा घर छाडेर अन्य नेताहरू जस्तो भाग्ने पक्षका नेताहरू होइनन् । बरु सांघातिक हमला हुँदा पनि ज्यान दिन तयार भए, घर छाडेनन् । यदि देउवा दम्पत्तिले सुरक्षाकर्मी र आफन्तहरूले भनेअनुसार घर छाडेर आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानमा भागेर गएको भए, उनीहरूमाथि सांघातिक आक्रमण हुने थिएन । देउवा दम्पत्तिको घर जल्यो, लत्ताकपडा जलेका छन् । कांग्रेसकै पदाधिकारीहरूबाट दुःख समेत प्रकट भएन । विशेष महाधिवेशन गरेर देउवालाई सभापति पदबाट छिटो हटाएर नेतृत्व हत्याउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरू लागिरहेका छन् ।
प्रधानमन्त्री केपी ओली, मन्त्रीहरू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जेलभित्र रहेका सहकारी ठगी र संगठित अपराधका अभियुक्त समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेल फोडेर फरार भएर (उनीहरूकै भाषामा) ज्यान बचाए । अन्य नेताहरू पनि घर छाडेर ज्यान बचाएका थिए ।
आफूलाई आक्रमण हुन लागेको र हत्या समेत हुने पूर्वजानकारी पाएका सभापति देउवा भागेनन् भने सार्वजनिक बिदाको दिन असोज ३ गते नयाँ पासपोर्ट बनाएर थाइल्याण्ड भाग्न लागे भन्ने समाचार लेखाउन गिरोहले सेतोपाटी जस्तो नाम चलेको अनलाइनलाई गुमराहमा पारेका छन् ।
सेतोपाटीको समाचारमा प्रतिक्रियाहरू आएका छन् । प्रतिक्रिया लेख्दै प्रकाश पोखरेलले भनेका छन्, ‘के आधारमा रोक्का गर्ने ? विदेशीको दलाल भएर ओलीलाई हटाउन नमानेकाले ? जसले विना प्रमाण यस्ता खतरनाक काम गर्दैछन् तिनले फेरि देशमा बस्ने बास नपाउने दिन आउन सक्छ है । चेतना भया ।’
बालसिंह पोखरेलले लेखेका छन्, ‘के न्यूज लेख्छ राष्ट्रियस्तरको अनलाइनले ? पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको पनि पासपोर्ट हुँदैन/बनाउँदैन त ? लाजश्रमको पनि ख्याल राख्नु पर्छ सम्पादक कहिले पैसा जल्यो नोटको अभाब हुन्छ दशैंमा लेख्छ ।’
शैलेस मैनालीले लेखेका छन्, ‘असोज ३ गते संविधान दिवस राष्ट्रिय बिदा थियो । कसरी बन्यो नयाँ पासपोर्ट ? पासपोर्ट बनाउन व्यक्ति स्वयं उपस्थित हुनु पर्छ, ढड्डामा ल्याप्चे गर्नु पर्छ तर, यी दम्पत्ति अहिलेसम्म भूमिगत नै छन् । कसरी बन्यो नयाँ पासपोर्ट ? हराएको, नष्ट भएको पासपोर्ट बनाउने निश्चित प्रक्रिया पूरा गर्नु पर्छ, त्यसको लागि झन् धेरै समय लाग्छ ? कसरी सम्भब भयो नया पासपोर्ट यति छिटो ?’
व्याङग्य गर्दै नवराज बास्ताकोटीले लेखेका छन्, ‘ ए आई प्रयोग गरेर थाइल्यान्डको भिजा लगाको भनेर त कसैले भनेको छैन नि !’
दर्शन क्षेत्रले प्रक्रिया लेखेका छन्, ‘यिनीहरू अझै अर्ध भूमिगत नै छन् । राहदानी बिभागमा उपस्थित नै नभइ कसरी पासपोर्ट बनेछ ? अझै पनि यिनीहरूलाई राजाभन्दा माथीको सुबिधा दिएको छ कि क्या हो ?’
नयाँ पासपोर्ट बनाउन होस् वा पुरानो पासपोर्ट नवीकरण गर्न होस् स्वयम् व्यक्ति उपस्थित हुनुपर्छ । गम्भीर घाइते भएर उपचाररत देउवा दम्पत्तिले कसरी राहदान बनाए ? कांग्रेसका कार्यकर्ताहरूले जवाफ खोजेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया