धेरैलाई लाग्यो होला कांग्रेस खरानी भयो भनेर, हामी त्यही खरानीबाट उठ्छौं : जीतजंग बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतले कांग्रेसलाई खरानी बनाएर संविधान सिध्याउन खोजे पनि कांग्रेसले नै संविधानलाई बचाउने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा नेपाल तरुण दलले संविधान दिवसका अवसरमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसको कार्यालयहरू जलाएर खरानी बनाए पनि कांग्रेस त्यही खरानीबाट उठेर संविधान र प्रजातन्त्रको रक्षा गर्ने बताए ।
उनले भने, ‘एकताबद्ध भएर संविधान बचाउनुपर्नेछ । आज हाम्रो केन्द्रीय कार्यालय जलेको छ । प्रहरीका कार्यालयहरू जलेका छन् । नेताहरूको घर जलेका छन् । सिंहदरबार जलेको छ । एकताबद्ध भएर जटिल परिस्थितिबाट अगाडि बढ्नुपर्नेछ ।’
नेता बस्नेतले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारमा हुनुहुन्छ । केन्द्रीय सदस्य डा.आरजु राणा पनि उपचाररत हुनुहुन्छ । संविधान दिवसको अवसरमा उहाँहरूको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।’
कांग्रेस नेता बस्नेतले कांग्रेसीहरूको मन जलेको बताए । उनले भने, ‘धेरैलाई लाग्यो होला आज नेपाली कांग्रेस खरानी भयो होला भनेर । यो जटिल परिस्थितिबाट हामी उठ्नु पर्ने भएको छ । घटनाका दोषीहरूलाई कारबाही हुनै पर्छ ।’
‘देश जलिरहेको छ । मानिसहरू रोइरहेका छन् । आज मन अध्याँरो छ । भोलि के हुन्छ भन्ने डर छ । यो डरलाई पाखाल्दै नेपाली कांग्रेसलाई एकताबद्ध भएर अरु पार्टीसँग पनि संविधान र प्रजातन्त्रको रक्षा गर्नुपर्नेछ,’ नेता बस्नेतले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया