सभापति देउवालाई फोन गरेर डा.कोइरालाले लिए स्वास्थ्य अवस्थाको जानकारी, संकटको बेला साथमा छु

काठमाडौं । उपचाररत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाका बारेमा नेता डा.शेखर कोइरालाले जानकारी लिएका छन् ।

आइतबार सभापति देउवालाई फोन गरेर नेता डा.कोइरालाले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । पारिवारिक स्रोतका अनुसार नेता डा.कोइरालाले सभापति देउवालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फोनमा भएको कुराकानीका क्रममा देशमा देखिएको संकटका विषयमा पनि सामान्य कुराकानी भएको छ । डा.कोइरालाले सभापति देउवालाई संकटको बेलामा आफू साथमा रहेको र यस्तो बेलामा कांग्रेस एक बनेर जानुपर्ने बेला आएको बताएका छन् ।

नेता डा.कोइरालाले सभापति देउवाका साथै केन्द्रीय सदस्य डा.आरजु राणा तथा अन्य घाइतहरूको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । डा.कोइरालाले घाइते सबैलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

जेनजी आन्दोलनका नाममा भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसेका बेला सभापति देउवा र डा.राणालाई घुसपैठ गर्ने समूहका केही व्यक्तिले ज्यान लिने उद्देश्यले कुटपिट गर्नुका साथै घरमा लुटपाट र आगजनी गरेको थियो ।

सभापति देउवा र डा.राणालाई ज्यान लिने उद्देश्यले घुसपैठबाट भएको हिंसात्मक आक्रमणको कांग्रेसकै पदाधिकारी र नेताहरूले निन्दा र भर्त्सना नगरेका बेला नेता डा.कोइरालाले पहिलो पटक विज्ञप्ति जारी गरेर कठोर शब्दमा निन्दा गरेका थिए ।

Published : Monday, 2025 September 15, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया