कांग्रेसद्वारा जेनजी आन्दोलनमा भएको ठूलो मानवीय र भौतिक क्षति तथा अवाञ्छित घुसपैठको छानबिन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलनका क्रममा ठूलो मानवीयसहित खर्बौंको भौतिक क्षति भएको भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

आइतबार उपसभापति खड्काले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘सम्पूर्ण घटनाको छानबिन गर्न हामीले माग गरिसकेका छौं । सरकारलाई पुनः स्मरण गराउँदछौं ।’

जेएनजीद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनमा युवाहरू सहादत हुनुका साथै खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनु अत्यन्तै दुःखद् रहेको खड्काले बताए ।

‘आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मी लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, परिवारजनमा गहिरो समवेदना दोहो¥याउन चाहन्छौं,’ खड्काले भने ।

उपसभापति खड्काले भने, ‘जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ ।’

‘यो अत्यन्तै अकल्पनीय र दुःखद् घटना निन्दनीय र भत्र्सना योग्य छ,’ खड्काले भने, ‘सरकारले क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गरोस् ।’

उनले भने, ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ ।’

‘यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ,’ उपसभापति खड्काले भने ।

‘यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ,’ उनले भने, ‘अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको स्मरण गराउँदछौं ।’

उनले भने, ‘समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, युवाहरू एवं पार्टी साथीहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणाहरू तय गर्दै अघि बढ्न नेपाली कांग्रेस दृढ प्रतिबद्ध रहेको स्पष्ट गर्दछ ।’

Published : Sunday, 2025 September 14, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया