विपक्षी दलहरूले भने– स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले स्वार्थमा प्रयोग गर्नु बेठीक, रास्वपाद्वारा बहिस्कार

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शन र आन्दोलनमा घुसपैठ हुँदा १९ जनाको ज्यान गएका बेला प्रतिपक्षमा रहेका दलहरूले धमिलो पानीमा माछामार्ने प्रयास शुरु गरेका छन् ।

प्रतिपक्षमा रहेका दलहरूले सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउन कदम उठाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीति बनाउन मंगलबार बिहान सिंहदरबारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएका थिए । दाहालले बोलाएको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिस्कार गरेको छ ।

जेनजी पुस्ताले सोमबार गरेको आन्दोलन हिंसात्मक भएपछि दाहालले बिहान ९ बजे सिंहदरबारमा विपक्षी दलहरूको बैठक बोलाएका हुन् । दाहालले बोलाएको हरेक बैठकमा सहभागी हुँदै आएको रास्वपा मंगलबारको बैठकमा सहभागी नभएर बहिस्कार गरिदिको हो ।

अध्यक्ष दाहालले बोलाएको बैठकमा माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरू सहभागी भएका थिए ।

अध्यक्ष दाहालले बोलाएको विपक्षी दलहरूको बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ । माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले भने, ‘सरकारले युवाहरूको आक्रोशलाई बुझ्न सकेन, सम्बोधन गर्न चाहेन, जसको परिणाम यो भएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध छौँ ।’

युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु बेठीक हुने नेता पुनले बताएका छन् । उनले भने, ‘सरकारबाटै ठूलो नरसंहार भएको छ । आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि बैठकले माग गरेको छ ।’

Published : Tuesday, 2025 September 9, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया