रास्वपाले धमिलो पानीमा माछा मार्न खोज्यो, सत्ताका लागि मध्यावधी चुनावको माग

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक, उत्तेजक र घुसपैठ हुँदा ठूलो हताहती भएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धमिलो पानीमा माछामार्ने प्रयास गर्दै मध्यावधी चुनावको माग गरेको छ ।

सोमबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रेस विज्ञप्ति जारी गरेर ताजा जनादेशमा जान माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (भ्बचथि भ्भिअतष्यल)को माग गर्दछौँ ।’

जेनजी पुस्ताको आन्दोलनमा रास्वपाको घुसपैठ र हिंसात्मक बनाउन भूमिका खेलेको भनेर आरोप लागेका बेला जेनजी पुस्ताको आन्दोलनको टाउकोमा टेकेर रास्वपाले मध्यावधी चुनावको माग गरेको छ । रास्वपालाई सत्ता चाहिएको स्पष्ट चाहना गरेको छ ।

‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँः आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले भनेको छ, ‘वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ ।’

‘घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ,’ रास्वपाले भनेको छ ।

‘सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दछौँ,’ रास्वपाले भनेको छ ।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा छन् । रास्वपाले नै जेनजी आन्दोलनमा आफ्ना कार्यकर्ताहरूलाई सहभागी हुन उर्दी लगाएको थियो ।

Published : Monday, 2025 September 8, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया