एमालेका मन्त्री सवारी गाडीले बालिकालाई ठक्कर दिएर फरार
काठमाडौं । एमालेका नेता समेत रहेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना चढेको गाडीले ललितपुरमा बालिकालाई ठक्कर दिएर फरार भएको छ ।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका वडा नं. २८ स्थित हरिसिद्धि माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएर फरार भएको सीसीटीभीको भिडियोमा देखिएको छ । भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको छ । ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन् ।
बालिका सडकमै लडे पनि एमालेका मन्त्री सवार गाडी रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिएको छ । गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ ।
ललितपुरका एसपी चक्रराज जोशीले घाइते भएकी ११ वर्षीया बालिका उषा मगर सुनुवार रहेको बताए । उषालाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको छ । मन्त्री सवार गाडीलाई भने प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिएको एसपी जोशीले जानकारी दिएका छन् ।
गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका छन् । स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएर मन्त्री चढेको गाडी नरोकी सरासर हिँडेको थियो ।
बालिकाको सम्पूर्ण उपचार खर्च एमालेले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले महाधिवेशनमा जानकारी गराएका छन् ।
दुर्घटना भएपछि स्थानीयले सडक अवरुद्ध गरेपछि ओलीले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको आरोपसमेत लगाएका छन् ।
कोशी प्रदेशका मन्त्री रानाको गाडीले बालिकालाई ठक्कर दिएपछि एमाले विधान महाधिवेशनसमेत केही ढिला सुरु भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया