विद्यादेवीको पक्षमा योगेशसहितका ६ नेता बचाउमा उभिए

काठमाडौं । एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने पक्षमा सचिव योगेश भट्टराईसहित ६ नेताले बचाउ गरेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्व सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पार्टीमा फर्कन रोक लगाउने विषयमा असहमति राखेको स्रोतले जनाएको छ ।
बिहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बसेको बैठकमा पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले समेत बचाउ गरेको बुझिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले बैठकको आरम्भ गर्नेबित्तिकै ‘म मेरा असहमति राख्छु’ भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिवाद गरेको स्रोतले जनाएको छ । पोखरेलले ३ पानाको असहमति पत्र वाचन गरेका थिए ।
उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि लिखित असहमति दर्ज गरेका छन् ।

भण्डारी पार्टीमा फर्कने र सदस्यता विवादमा मौन बस्दै आएका उपाध्यक्ष रामबहादुर थापाले पनि बिहीबार भण्डारीको पक्षमा खुलेका छन् ।

सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता र पार्टीमा फर्कन निमल्ने विषयलाई लिएर तलतल ध्रुवीकरण बढाउन नहुने धारणा राखेका छन् ।

पूर्वराष्ट्रपतिको विषयलाई धेरै विवादित बनाउन नहुने बताउँदै भट्टराईले भण्डारीले पार्टीमा फर्कन्छु भनिसकेको बताए । अध्यक्ष र पूर्वराष्ट्रपति बसेर कुरा गर्न सुझाव दिँदै सचिव भट्टराईले २०८४ मा बहुमत ल्याउने भनिरहेको पार्टी पंक्तिलाई विभाजित बनाउन नहुने बताए ।

एमालेको विधान महाधिवेशन शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू भएको छ । दोस्रो विधान महाधिवेशन आइतबारसम्म चल्नेछ ।

विधान महाधिवेशनले ११औं महाधिवेशनका लागि एमालेको विधान, नीति र पार्टी निर्वाचन आयोगको नयाँ नेतृत्व चयन गर्नेछ ।

Published : Friday, 2025 September 5, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया