दुई श्रीमती बिहे गर्ने रास्वपाका डा.थापामाथि महिला अधिकारकर्मीहरूले उठाए प्रश्न
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा.लेखजंग थापालाई रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णयको महिला सुरक्षा दबाब समूहले आपत्ति जनाएको छ ।
बिहीबार समूहकी अध्यक्ष इरादा गौतमले प्रेस विज्ञप्ति जारी गरेर रास्वपा उम्मेदवार डा.थापामाथि कानूनी रूपमा पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै सार्वजनिक रूपमै कानूनी र नैतिक प्रश्न उब्जिएको बताएकी छिन् । त्यस्तो व्यक्तिलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त नमूना भएको अध्यक्ष गौतमले बताएकी छिन् ।
विज्ञप्तिमा डा.थापाले पहिली श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको र विवाहको ९ वर्षपछि कान्छी श्रीमतीले नै आफूलाई मानसिक यातना दिने, खान लाउन नदिने र घरबाट निकाला गरेको आरोप लगाउँदै थापाविरुद्ध २०७९ पुस २० मा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०७९ माघ १५ मा मिलापत्र मार्फत सम्बन्ध विच्छेद गरेको देखिएको उल्लेख छ ।
विज्ञप्तिमा डा.थापाले श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको प्रमाण पनि आफूमाथि लागेको आरोप लागेपछि विवाद साम्य पार्नका लागि पार्टीमा पछि मात्रै सार्वजनिक गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यति गम्भीर विवाद हुँदा हुँदै पार्टीले उहाँलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त नमूना हो । यो घटनाले महिला अधिकार सामाजिक मर्यादा र सार्वजनिक पद धारण गर्ने व्यक्तिको नैतिकतामा प्रश्न उठेको हुँदा कुनै पनि राजनीतिक दलले घटनाको ढाकछोप गर्नु महिला माथिको दोहोरो हिंसा हुन जान्छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘रास्वपा जस्तो नयाँ पार्टीले देशमा परिवर्तन ल्याउनु पर्नेमा यस्तो व्यक्तिलाई उम्मेदवारी दिएर सक्षम महिलालाई पछाडि पार्दै के सन्देश दिन खोजेको हो ? हाम्रो गम्भीर प्रश्न छ ।’
महिलाविरुद्धको घरेलु हिंसा र मानसिक यातनामा राजनीतिक संरक्षण दिने प्रवृत्ति अन्त्यका लागि निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले पनि घटनाको नैतिक, कानूनी र लैङ्गिक रूपमा मूल्यांकन गर्नु पर्ने र सार्वजनिक पदमा रहन योग्य व्यक्तिका लागि नैतिक आचरणको मापदण्ड कडाइका साथ लागू गर्न अध्यक्ष गौतमले भनेकी छिन् ।
‘बहुविवाहको मुद्दा लागेको र हिंसा पीडक व्यक्तिलाई कुनै हालतमा उम्मेदवारको चयन गर्नु हुँदैन र त्यस्तो मान्छेले जित्यो भने पनि संसदमा गएर कस्तो कानून बनाउँछन् ? यो हामी महिला सुरक्षा दबाब समूहको प्रश्न हो,’ विज्ञप्तिमा भनिएको छ ।
पत्नी हुँदाहुँदै दोस्रो पत्नी विवाह गरेको आरोप डा.थापामाथि लाग्दै आएको छ । डा.थापाले अदालतबाट मिलापत्र लगायतका कागजपत्र सार्वजनिक गरे पनि महिला अधिकारकर्मीहरूले चित्त बुझाएका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया