सहकारीको १६ करोड ठगीकी अभियुक्त राप्रपा सांसद बस्नेत धरौटीमा रिहा, राज्यबाट पाइन् सुविधा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत धरौटीमा छुटेकी छिन् ।

राप्रपाकी सांसद बस्नेत सहकारीको करीव १६ करोड ठगीमा डेढ वर्षदेखि फरार रहेकी थिइन् । बुधबार नवलपुर जिल्ला अदालतले बस्नेतलाई बुधबार १५ लाख रुपियाँ धरौटीमा छाडेको छ ।

राप्रपाले संसदमा भिजिट भिसा लगायतका विभिन्न विषय उठाएर संसद बहिस्कार गर्दै आएको छ । राप्रपाले यता आफ्नी सांसद बस्नेतलाई सहकारी ठगीबाट बचाउन विभिन्न तिकडमहरू गरेको छ ।

राप्रपा सांसद बस्नेतलाई कावासोतीको छिपछिपे सहकारीको १६ करोड हिनामिनाको अभियोग लागेको छ । प्रहरीले २०८१ जेठ २० गते बस्नेतसहित ३५ विरुद्ध मुद्दा दायर गरेको थियो ।

सांसद बस्नेत बुधबार अदालतमा उपस्थित भएकी थिइन् । जिल्ला न्यायाधीश कमल ज्ञवालीको इजलासले बस्नेतलाई धरौटीमा छाड्ने आदेश दिएको छ । बैंक ग्यारेन्टी बुझाएर उनी बुधबार नै रिहा भएको जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए । राप्रपा सांसद बस्नेत हाजिर भएकै दिन बुधबार बयान सकिएपछि थुनछेक आदेश जारी भएको थियो ।

यसअघि एमाले नेता समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नी अञ्जला कोइरालाको मुद्दामा पनि राज्यले सांसद बस्नेतलाई जस्तै सुविधासहितको व्यवहार गरेको थियो । अञ्जला मोरङको उमागौरी सहकारीको रकम हिनामिनामा प्रत्यक्ष जोडिएकी पनि प्रहरीले फरार बनाएर मुद्दा दायर गरेको थियो । जबकि उनी घरमै थिइन् । उनी एकैपटक जिल्ला अदालतमा उपस्थित भइन् । त्यही दिन उनको पेसी तोकियो, त्यही दिन थुनछेक बहस भयो र त्यही दिन १० लाख धरौटीमा रिहा भइन् ।

राप्रपा सांसद बस्नेतविरुद्ध तीन हजार १०९ जना बचतकर्ताको १६ करोड ५६ लाख ९४० रुपियाँ हिनामिना गरेको अभियोगमा ३५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

सहकारीको पैसा सांसद बस्नेत सञ्चालक रहेको बर्दियाको कृष्णसार रिसोर्टमा लगानी गरिएको थियो । उनका ज्वाइँ रहेका नगेन्द्रबहादुर रिसाल सो सहकारी र रिसोर्ट दुवैका सञ्चालक हुन् ।

बस्नेतकै मिलेमतोमा एकपटक सहकारीको ९५ लाख र अर्काेपटक ५४ लाख रुपियाँ हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ ।

राप्रपा सांसद बस्नेतविरुद्ध चितवनमा पनि अर्काे मुद्दा दायर छ । आफूविरुद्ध मुद्दा दायर भएपछि संसदबाट बस्नेत बिरामी बिदा लिएर बसेकी छिन् । प्रहरीले पनि डेढ वर्षसम्म उनलाई पक्राउ गर्न चासो दिएको थिएन ।

Published : Thursday, 2025 September 4, 8:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया