एमाले नेता महरलाई प्रहरी र सरकारी वकिलले दियो हिरासतमा बस्नु नपर्ने गरी सत्ताको पूरै सुविधा

काठमाडौं । सत्ताको आड र दवावमा प्रहरीले एमालेका केन्द्रीय सदस्य ऐन महरलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले एमाले केन्द्रीय सदस्य महरविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरेको हो । महर साइबर अपराधको मुद्दामा खोजेको समयमा उपस्थित हुने सर्तमा परिवार र कानून व्यवसायीको जमानीमा छाडिएका थिए । परिवार र कानून व्यवसायीको जमानीमा छाडिएका महरलाई सत्ताको आड र राजनीतिक पहुँचको आधारमा फरार प्रतिवादी बनाएको आरोप छ ।

सत्ताकै संरक्षणमा महरलाई हिरासतमै नराखी अनुसन्धान गरिएको भन्दै आलोचना भएको थियो । महरलाई हिरासतमा बस्नु नपर्ने गरेर फरार बनाइ अर्काे सुविधा दिइएको छ ।

महर भदौ ११ गते प्रहरीमा उपस्थित भई बयान दिएर केही घण्टामै छुटेका थिए । खोजेको वेला उपस्थित हुने गरी हाजिरी जमानीमा उनलाई छाडिएको थियो । मुद्दा दर्ता हुने वेला महरलाई नियन्त्रणमा नलिई फरार बनाएर मुद्दा दायर गरिएको छ ।

काठमाडौंका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले महर उपस्थित नभएकाले फरार प्रतिवादीका रूपमा अभियोगपत्र दर्ता गरिएको दाबी गरेका छन् । जमानी लिएका व्यक्तिहरूलाई समेत प्रहरीले यसमा जिम्मेवार बनाउन सक्छ ।

यसअघि तीनकुनको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशम्शेर राणा सर्वोच्चको आदेशअनुसार हाजिरी जमानीमा छुटेका थिए । सर्त पालना नगरेको भन्दै प्रहरीले उनीहरूका कानून व्यवसायीलाई जरिवानासमेत तोकेको थियो । मुद्दा दायर हुने समयमा उपस्थित नभएको भनेर उनीहरूका कानून व्यवसायीलाई जरिवाना तोकिएको थियो ।

एमालेका नेता महरको हकमा भने उनलाई सहज हुने अवस्थामा अदालतमा उपस्थित हुने गरी मुद्दा दर्ता गरिएको छ ।

फेसबुकमा लाइभ गरेर आफूलाई चरित्रहीन भएकोलगायत आरोप लगाएको भन्दै महरविरुद्ध एक युवतीले जाहेरी दिएकी थिइन् । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न अस्वीकार गरेकोमा पछि सरकारी वकिलमार्फत दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो । ती युवतीले महरविरुद्ध दिएको बलात्कारको जाहेरी भने सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।

Published : Wednesday, 2025 September 3, 8:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया