लुम्बिनी कांग्रेसका सभापति पुनको निरंकुश हर्कत, नेता-कार्यकर्तालाई धमाधम कारबाही गर्दै
मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुन निकै अप्रजातान्त्रिक र निरंकुश बन्दै गएका छन् ।
आफ्नो आलोचना गर्नेहरूलाई सभापति पुनले पार्टीमा धमाधम कारबाही गरिरहेका छन् । पुनले पछिल्लो पटक नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य पदबाट विक्रमसिंह थापालाई पदमुक्त गरेर कारबाही गरेपछि उनको निरंकुश चरित्र उदाङ्गो भएको छ । महामन्त्री गगनकुमार थापा निकट मानिने सभापति पुनले विक्रमलाई पदमुक्त गरेपछि विरोध भइरहेको छ । महामन्त्री थापासँगको परामर्शपछि सभापति पुनले विक्रमलाई पदमुक्त गरेर कारबाही गरेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले विक्रमसिंह थापामाथि भएको कारबाहीको विरोध गरेका छन् । शाहले भने, ‘लुम्बिनी प्रदेश समितिद्वारा नेपाली कांग्रेसका नेता विक्रमसिंह थापामाथीको कार्यवाही निन्दनीय छ । यो निर्णयको घोर भर्त्सना गर्दछु ।’
पदमुक्त भएका विक्रम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । विक्रमलाई गएको प्रदेश सभा निर्वाचनमा अन्तरघात गरेर पूर्वमन्त्री सुरेन्द्र आचार्य, नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलाम खाँ, लुम्बिनी कांग्रेसका सभापति पुनसहितको समूहले हराउन भूमिका खेलेको आरोप छ ।
सभापति पुनले विक्रमलाई साउन ११ गते पदमुक्त गरेको एक नेताले बताए । पुनले आलोचना हुने डरले लुकाएर राखे पनि सदस्यबाट पदमुक्त गरेको निर्णय बाहिरिएपछि सभापति पुनको आलोचना भइरहेको छ । कांग्रेसको राजनीति गर्दै आएका सभापति पुनले आफ्नो आलोचना सुन्न चाहँदैनन् । आलोचना सहन सक्दैनन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति कार्यालयले सार्वजनिक गरेको पत्रमा नेपाली कांग्रेस विधान २०७१ (संशोधनसहित)को परिच्छेद ७ को धारा १३ (१) को उपधारा (१०) बमोजिम विक्रमसिंह थापालाई जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।
विक्रम कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ८ निवासी हुन् । कपिलवस्तु जिल्लामा लोकप्रिय मानिएका विक्रमसँग सभापति पुन र उनको समूह त्रसित बनेर सदस्यबाट जिम्मेवारी मुक्त गरेको छ ।
यसअघि, साउन ११ गते नै सभापति पुनले नेता शेखर कोइराला निकट मानिने नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य विष्णु पोखरेललाई पनि सदस्यबाट जिम्मेवारी मुक्त गरेर कारबाही गरेका थिए ।
ठेकेदार पृष्ठभूमिका सभापति पुन कांग्रेसभित्र निरंकुश र विवादित नेतामा पर्छन् । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट बनाउने क्रममा अर्थ मन्त्रालयमा बसेर हस्तक्षेप गर्न खोजेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी परिचालन गरेर अर्थ मन्त्रालयबाट निकालेका थिए ।
सभापति पुनले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई अपशब्द बोलेर दुर्व्यवहार समेत गरेका थिए । सभापति पुनले चौधरीलाई बोलेको अपशब्दका बारेमा सभापति शेरबहादुर देउवालाई समेत जानकारी छ ।
निरंकुश र अप्रजातान्त्रिक व्यवहारका कारण सभापति पुन प्रदेश सभा निर्वाचनका बेला रोल्पामा नराम्रोसँग पराजित भएका थिए । स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनसँग सभापति पुनले लज्जास्पद हार व्यहोर्नु परेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया