प्रतिनिधि सभाबाट पारित भएको कुलिङ अफ परियड राष्ट्रिय सभाको समितिले उल्टाइदियो
काठमाडौं । विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयक, २०८० मा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ ।
शनिबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने विषयमा सहमति जुटाएको हो ।
यसअघि प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने क्रममा कुलिङ अफ पिरियडमा छेडखानी गरेको पाइएको थियो ।
कुलिङ अफ पिरियड नरहने आशयसहितको विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभाबाट त्यसलाई सच्चाउनुपर्ने आवाज समेत उठेको थियो ।
विधायन व्यवस्थापन समितिमा एमाले बाहेकका दलका सांसदले दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्ने बताएका थिए । एमाले सांसदहरूले कुलिङ अफ पिरियडको अवधि कम गर्ने विषयमा धारणा राखेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडमा सरकारको कुनै छुट्टै अडान नरहेको बताइन् । उनले दुई वर्षको कुलिङ अफ पिरियड राख्दा तलका कर्मचारीलाई कुनै अप्ठेरो नहुने र सबैलाई एउटै अर्थ लाग्ने गरी भाषा मिलाउनुपर्ने बताएकी छिन् ।
समिति सभापति तुलसाकुमारी दाहालले निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको जानकारी दिएकी छिन् । यस विषयमा भाषा मिलाएर अन्तिम प्रतिवेदन निर्माणका क्रममा छलफल हुने उनले बताइन् ।
राष्ट्रियसभा पारित भएको खण्डमा निजामती विधेयकलाई भदौ १९ गते पारित गर्ने प्रतिनिधिसभाको तयारी छ । राज्य व्यवस्था तथा सुशासन समितिसहितका उच्च तहका कर्मचारीहरूको बदमासीका कारण कुलिङ अफ् पिरियड हटाएका थिए । त्यसपछि संसदीय छानविन समिति बनाउनु परेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया