सिभिल मलमा धादिङका श्रेष्ठको स्टोरमा छापा, ६ वटा नक्कली पेस्तोलसहित पक्राउ

काठमाडौं । नक्कली हतियार बिक्री वितरण गरेको अभियोगमा प्रहरीले ३१ वर्षीय सुरज मगरलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ६ थान नक्कली पेस्तोलसहित मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले भदौ ५ गते दिउँसो करिब १२ः३० बजे काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित सिभिल मलको पाँचौं तलामा रहेको द ट्वय स्टोर इन्टरप्राइजेजमा खानतलासी गरेको थियो । स्टोर धादिङको निलकण्ठ नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठको नाममा प्रकाश श्रेष्ठले सञ्चालन गर्दै आएको खुलेको छ ।

खानतलासीका क्रममा सक्कली जस्तै देखिने ६ थान नक्कली मेटालिक पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद हतियारमध्ये चाइनिज ७७ मोडलको एक थानको तौल ६७५.२१ ग्राम र मेड इन जर्मन लेखिएको बेरेट्टा मोडलका पाँच थानको प्रतिपेस्तोल तौल ६१५.१३० ग्राम रहेको जनाइएको छ ।

प्रहरीलाई अवरोध गर्दै अभद्र व्यवहार गर्ने काभ्रेको रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौंको कलंकी बस्ने सुरज मगरलाई नियन्त्रणमा लिइ अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

विगतमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यस्ता हतियार देखाएर चोरी, डकैती र लुटपाटका घटनाहरू भइरहेको पृष्ठभूमिमा नक्कली हतियारको बिक्री वितरण र प्रयोग नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले अभियान चलाइरहेको छ। बरामद हतियार र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Published : Friday, 2025 August 22, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया