भारतद्वारा पाँचथरमा बेलिब्रिज निर्माण, मन्त्री दाहाल र राजदूत श्रीवास्तवद्वारा उद्घाटन
फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पाँचथरको हेँवा खोलामा निर्मित ७० मिटर लामो बेलिब्रिजको उद्घाटन भएको छ ।
बुधबार दाहाल र श्रीवास्तवले बेलिब्रिजको उद्घाटन गरेका हुन् । बाढीका कारण पटकपटक पुल बग्ने र भाँचिने समस्यापश्चात भारत सरकारको सहयोगमा बेलिब्रिज जडान गरिएको हो ।
पुलको पूर्वाधार निर्माण र जडान कार्य संघीय सरकार मातहतको सडक डिभिजन इलाममार्फत भएको थियो ।
भौतिकमन्त्री दाहालले विकासका चरणलाई बाढी पहिरो र प्राकृतिक विपतले धक्का दिने गरेको स्मरण गर्दै हेवामा दोहोरिएका विपदलाई एउटा उदाहरणका रूपमा लिन सकिने बताए ।
‘भत्किएका संरचना पुनः निर्माण गर्नु पनि विकासको निरन्तरता हो, बाढी पहिरो र विपदबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणसँगै पीडितको पुनः स्थापना सरकारको प्राथमिकता हो’, मन्त्री दाहालले भने ।
मन्त्री दाहालले हेवा खोलामा बेलिब्रिज जडान गर्ने क्रममा जेठ ३१ गते ज्यान गुमाएका तीन जना श्रमिकको परिवारलाई क्षतिपूर्ती र घाइते तीन जनालाई उपचार खर्च उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विपदमा परेको छिमेकीको हात समातेर उठाने दायित्त्व छिमेकीकै रहेकाले नेपाल सरकारको अनुरोधलाई स्वीकार गर्दै ५० करोड बराबरका १० वटा पुल उपलब्ध गराएको जानकारी दिए । उनले भने, ‘भारत नेपालको असल छिमेकी हो, हामीले छिमेकीको धर्म निर्वाह गरेका हौं ।’
हेवा खोलाका लागि मोड्युल ब्रिज भारत सरकारले निःशुल्क उपलब्ध गराएको छ । पुल भारतबाट आएका २१ सहित नेपालका प्राविधिकले ११ दिन लगाएर जडान गरेका हुन् ।
पुल जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले तीन करोड ५० लाखमा ठेक्का लिएको थियो ।
पहिलो पटक हेवा खोलाको पक्की पुल २०८० साल असार–२ बाढीले बगाएको थियो । त्यसपछि बनेको बेलिब्रिज २०८१ असोज १२ गते बाढीले बगाएको थियो । पुनः जडान थालिएको अर्को बेलिब्रिज गत जेठ ३१ गते जडानको काम सम्पन्न नहुँदै भाँचिदा तीन जना श्रमिकको मृत्यु भएको थियो । दुर्घटनामा थप तीन जना घाइते भएका थिए ।
बेलिब्रिज उद्घाटन भएसँगै सवारी आवागमनका लागि अनुमति दिइएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिएका छन् । पुल सञ्चालनमा आएपछि मेची राजमार्ग भएर झापा–इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म पुग्ने सवारी र ढुवानी सञ्चालन गर्न सहज हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया