रास्वपाका नेताहरूले गृहमन्त्री लेखकको सचिवालयमाथि प्रतिशोध राखेर लाञ्छना लगाएपछि खण्डन
काठमाडौं । गृहमन्त्री रमेश लेखकको निजी सचिवालयले न्याय परिषदमा परेको उजुरीलाई लिएर आएका टिकाटिप्पणी र समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री लेखकका निजी सचिव बद्रीप्रसाद तिवारले केही व्यक्तिहरूबाट उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उन भने, ‘रुपन्देही जिल्ला अदालतमा मुद्दा पेसी चढेको दिन न्याय परिषदमा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी केही मानिसहरूले व्यक्त गरेको र सो विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको समाचारप्रति माननीय गृहमन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘सम्मानित अदालतलाई प्रभावित गरियो भन्ने किसिमका अभिव्यक्ति पूर्णतः भ्रामक, कपोकल्पित र मनगढन्ते हुनुका साथै माननीय गृहमन्त्रीज्यूलाई तथ्यहीन दोषारोपण गर्ने गलत मनसायले प्रेरित उक्त अभिव्यक्ति र समाचारको सचिवालय खण्डन गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
‘अदालत र न्याय परिषद जस्ता सम्मानित निकायहरूको कार्यक्षेत्र र स्वतन्त्रतामा माननीय गृहमन्त्रीज्यू र सचिवालय संवेदनशील रहेको हुँदा सम्मानित न्यायालयको गरिमा तथा सम्मानमा असर पर्ने यस्ता कार्यहरू नभएको, हुनै नसक्ने र आगामी दिनमा पनि नहुने कुरामा आश्वस्त हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरूले गृहमन्त्री लेखकप्रति राजनीतिक प्रतिशोध राखेर विभिन्न लाञ्छना लगाउँदै आएका छन् ।
रास्वपाका सांसद र नेताहरू गृहमन्त्री लेखकको निजी सचिवालयले गृहमन्त्रीको कार्यकक्षमा उजुरी तयार पारेर न्याय परिषदमा दर्ता गराएको भनेर आरोप लगाएका बेला खण्डन भएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया