व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको होइन, वातावरण बनाइदिने हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् ।

मंगलबार कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत् धेरै गाली खानुपरेको बताए ।

उनले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए ।

व्यापारी, उद्योगीहरू मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न सभापति देउवाले आग्रह गरेका छन् ।

‘नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ,’ देउवाले भने, ‘व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीरकण गर्नुभयो ।’

‘यति गाली पाउनुभयो उहाँहरूले, सारा व्यपारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो,’ देउवाले भने, ‘हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन ।’

‘व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपतिले हो,’ सभापति देउवाले भने, ‘केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले । हामी सरकारमा छौँ, हामी तयार छौँ, सहयोगका लागि। सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि फेरि । आफू गर्नुप¥यो नि ।’

देउवाले भने, ‘आफू केही नगर्ने अनि हामीलाई दोष दिने ? काम गर्नुप¥यो, मेहनत गर्नुप¥यो । बिना मेहनत हुँदैन व्यापार होस् चाहे उद्योग होस् ।’

सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताएका छन् । आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने सभापति देउवाले बताएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, कर्णबहादुर बुढा, डिला संग्रौला, जिपछिरिङ लामा, ध्यानगोविन्द रञ्जित, मदनकृष्ण श्रेष्ठ, अब्दुल सतार लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2025 July 29, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया