भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका राप्तीका अध्यक्ष विष्टद्वारा सरकारी गाडीको दुरुपयोग
मसुरिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि निलम्बनमा परेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रवाफमा कुनै कमी आएको छैन ।
दाङको राप्ती गाउँपालिकामा तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र) अध्यक्षमा निर्वाचित भएका विष्ट भ्रष्टाचारको मुद्दामा निलम्बनमा पर्दा समेत पालिकाको सरकारी गाडी प्रयोग गरेर रवाफ देखाउने कार्य जारी राखेपछि जनप्रतिनिधिहरू र कर्मचारीहरू आक्रोशित बनेका छन् । विष्टको प्रतिवाद गर्न नसकेका जनप्रतिनिधिहरू र कर्मचारीहरूले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेको व्यक्ति गाउँपालिकाको सरकारी सम्पत्ति दुरुपयोग गर्न नहुने बताएका छन् । निलम्बनमा परेका अध्यक्ष विष्टले पनि विशेष अदालत, काठमाडौंबाट भ्रष्टाचार मुद्दाको किनारा नलाग्दासम्म राप्ती गाउँपालिकाको सवारी साधन र अन्य साधन स्रोतमा नैतिकताको लागि पनि दुरुपयोग गर्न नहुने एक कर्मचारीले बताए ।
बिहीबार निलम्बनमा परेका अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको सरकारी गाडी रा १ ज १८१ नम्बरको गाडी र चालक निर्मल शर्मालाई लिएर रुपन्देहीतिर हान्निएका छन् । स्रोतका अनुसार विष्टले सरकारी गाडी रुपन्देही जानुछ भन्दै चालकलाई बोलाएर लगेका हुन् । विष्ट व्यक्तिगत कामका लागि बुटवल गएको स्रोतले जनाएको छ ।
सार्वजनिक सम्पत्तिको प्रयोगका विषयमा पारदर्शिता र जवाफदेहिता भने अहिले नै आवश्यक छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ ले भ्रष्टाचारसम्बन्धी कसूरको आरोपमा मुद्दा दायर भएको स्थानीय तहका निर्वाचित पदाधिकारी र राष्ट्रसेवकलाई मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गरेको छ ।
राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले गाउँपाकिलाको सरकारी गाडी लिएर एकजना कर्मचारी तिलोत्तमा नगरपालिकाको कार्यक्रममा सहभागी हुन गएको बताए । उनले को कर्मचारी गएको हो केही भनेनन् । सायद सोही कार्यक्रममा जान लागेका कर्मचारीसँग उहाँ (प्रकाश विष्ट) पनि जानु भएको हुन सक्ने मल्लाहले बताए ।
स्रोतका अनुसार तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन विष्टसँग राप्ती गाउँपालिकाबाट कुनै पनि कर्मचारी गएका छैनन् ।
डिभिजन वन कार्यालय लमही, देउखुरीको जाहेरीमा दायर भएको मुद्दा रूख कटान तथा ओसारपसारसम्बन्धी मुद्दा हो । यो मुद्दा २०८० मंसिर १० गते दायर भएको र पछि जिल्ला अदालतबाट फैसला भएको विवरण छ ।
स्मरणीय रहोस्, निलम्बित अध्यक्ष विष्टले भर्खरै सरुवा भएर आएका लेखा अधिकृत निरज लामिछानेलाई रोक्नसमेत लुम्बिनी प्रदेशका मुख्यसचिवलाई भेट्नसमेत पुगेको स्रोतको दाबी छ । विष्टले राम्रो काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत देवराम पाठकको सरुवामा समेत चलखेल गरेका थिए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया