बागमती प्रदेशमा कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिए, मुख्यमन्त्री लामा नांगिए

हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिचाईंमन्त्री बनेका श्यामकुमार खड्का पदबाट राजीनामा दिएका छन् ।

खड्काले सोमबार साँझ कांग्रेस संसदीय दलको कार्यालय हेटौँडामा मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा बुझाएका हुन् । खड्काले मन्त्री पदबाट राजीनामा दिएर मुख्यमन्त्री लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

लामाविरूद्द अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ । दुई जना सांसदले हस्ताक्षर फिर्ता लिएको भनिए पनि आधिकारिक केही कुरा बाहिर आएको छैन ।

यसअघि साउन ९ गते चारजना मन्त्रीले पदबाट राजीनामा दिएर मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मन्त्री पदबाट राजीनामा दिनेहरूमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका छन् । राजीनामा दिइसकेका मन्त्रीहरूलाई मुख्यमन्त्री लामाले बर्खास्त गरेको भनेर नौटंकी गरेका थिए ।

मुख्यमन्त्री लामाले आफ्नै दल कांग्रेसका २१ जना सांसदहरूको अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भएको छ । संसदीय दलको नेताबाट हट्नेवित्तिकै लामाको मुख्यमन्त्री पद पनि फुत्किनेछ ।

बागमती कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले सोमबार लामा र सांसद ईन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरेका छन् । लामाले अटेर गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिन मानेका छैनन् ।

Published : Tuesday, 2025 July 29, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया