लामाले अटेर गरेपछि केसीलाई कांग्रेसले पठायो हेटौँडा, दलको नेता नभए मुख्यमन्त्री हुन नसक्ने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता बहादुरसिं लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् सांसद राजन केसीलाई खटाएको छ ।

नेता केसीले कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नभएको खण्डमा मुख्यमन्त्रीको वैधानिकता रहन नसक्ने बताएका छन् । बहुमत सांसदबाट लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढाउन नेता केसी हेटौँडा आएका हुन् । केसीले अविश्वासको प्रस्ताव पास भए मुख्यमन्त्री बहादुरसिंह लामाको वैधानिकता समाप्त हुने बताएका छन् ।

केसीले प्रदेश संसदीय दलमा दर्ता गरिएको अविश्वास प्रस्ताव पास भए लामा मुख्यमन्त्री रहने नैतिक र संवैधानिक आधार सकिने बताएका छन् ।

कांग्रेस प्रदेश संसदीय दलका ३७ सांसदमध्ये २१ जनाको हस्ताक्षरसहित दलको नेताबाट लामालाई हटाउने निर्णय गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

कांग्रेस नेता केसीले अविश्वास प्रस्तावबारे टुङ्गो लगाउन कांग्रेसले आफूलाई बागमती प्रदेशमा प्रतिनिधिका रूपमा हेटौँडा पठाएको बताएका छन् । केसीले आफू कांग्रेसको केन्द्रीय कार्यालयको निर्देशनमा आएको बताए ।

नेता केसीले छलफलका लागि सोमबार १ बजे बैठक बोलाएको बताए । सबै सांसदसँग संवाद गरेर समस्याको समाधान खोज्ने प्रयास गरिने उनले बताए । सहमति भएन भने मत विभाजनबाट टुङ्गो लाग्ने नेता केसीले बताएका छन् ।

अविश्वासको प्रस्तावमा ५१ प्रतिशतको समर्थन भएमा प्रस्ताव पारित हुने र त्यसअनुसार नयाँ राजनीतिक कोर्स तय हुने नेता केसीले बताएका छन् ।

कांग्रेसको केन्द्रीय नेतृत्वको निर्देशनलाई समेत उल्लंघन गरेका मुख्यमन्त्री लामा संसदीय दलमा अल्पमतमा परेका छन् । लामाले आफू गठबन्धन सरकारको नेतृत्व गरिरहेको भन्दै राजीनामा नदिने अडान राखेका छन् ।

Published : Sunday, 2025 July 27, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया