अहिले अर्को सरकार बन्ने विकल्प छैन, आफ्नो कार्यकाल पूरा गर्छ : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सिटौलाले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताए । उनले भने, ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो ।’

‘वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर, यो सरकार कन्टिन्यु जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन,’ सिटौलाले भने, ‘अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिँदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्छ ।’

नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने कुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने बताएका छन् ।

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताए पनि सिटौलाले सरकारको विकल्प पनि नरहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतले निर्णय गर्न सक्नेगरी संसदबाट पारित भएर गएको संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता गर्नेबारे नेता सिटौलाले भने, ‘मलाई लागेको के हो भने संवैधानिक परिषदले पहिलो चरणमा सर्वसम्मतिले निर्णय गर्नुपर्छ ।’

‘त्यसबेला बहाल रहेका सबै सदस्यहरू उपस्थित भएनन् भने सबै उपस्थित हुनुपर्छ र सर्वसम्मत निर्णय लिनुपर्छ भन्ने पहिलो हो विधेयकको मनसाय त्यही मैले बुझेको हो,’ सिटौलाले भने ।

‘दोस्रो सर्वसम्मत हुन सकेन र सबै सदस्य उपस्थित हुन सकेनन् भने के गर्ने भन्ने छ,’ उनले भने, ‘दोस्रो पटक बैठक बोलाउँदा बहुमत उपस्थित भए भने बहुमतले निर्णय गर्नुपर्छ भन्ने हो ।’

नेता सिटौलाले कांग्रेसको महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुने बताएका छन् । उनले भने, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ को दशैँ पछिसम्ममा हुनुपर्छ । किनभने महाधिवेशन अहिलेसम्म ५ वर्षमै हुँदै आएको छ । २०८३ मंसिर उता जानुभएन ।’

Published : Sunday, 2025 July 27, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया