चितवन कांग्रेसका पूर्वसभापति गुरुङको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका पूर्व सभापति पृथ्वीमान गुरुङको निधन भएको छ ।
गुरुङको श्रावण १० गते शनिबार बिहान ८ः४५ बजे ७६ वर्षको उमेरमा भएको नेपाली कांग्रेसले जनाएको छ । गुरुङ गण्डकी प्रदेशका पूर्व प्रमुख, प्रजातन्त्र सेनानी, शिक्षाप्रेमी, समाजसेवी एवं निष्ठावान् व्यक्तित्व रहेको कांग्रेसले जनाएको छ ।
गुरुङको निधनप्रति कांग्रेसले शोक वक्तव्य जारी गरेर गहिरो दुःख व्यक्त गरेको छ ।
गुरुङको पार्थिव शरीरलाई २०८२ श्रावण ११ गते बिहान ११ः१५ बजे गुरुङको निवास भरतपुर महानगरपालिका वडा नं. २६, दीव्यनगरबाट पवित्र तीर्थस्थल देवघाटधाममा लगेर अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ ।
गुरुङले लामो समयसम्म नेपाली कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
गुरुङको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले भने, ‘नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले मलाई अत्यन्त दुखित् र मर्माहत बनाएको छ ।’
‘स्व.गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
चितवनको भरतपुरस्थित निवासमै पगेर केही दिन अगाडि सभापति देउवाले गुरुङको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । त्यस क्रममा बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाा, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू पनि गुरुङको निवासमा पुगेका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया