बहुमत ल्याउने वातावरण सिर्जना गर्न कांग्रेसमा गुटको अन्त्य गर्न जरुरी : सभापति देउवा

मलेखु । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व. भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धादिङको धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलि सभामा देउवाले संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने बताए ।

बहुमत ल्याउने वातावरण सिर्जना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको देउवाले बताएका छन् ।

‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधित्व भएको छ,’ उनले भने, ‘कुनै एक पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ ।’

सभापति देउवाले भने, ‘बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस् ।’

बिक्रम संवत् १९८५ सालमा धादिङको नौबिसेमा जन्मिएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौंको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Published : Thursday, 2025 July 24, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया