नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्वमन्त्री श्रेष्ठसँग घूस काण्डमा अख्तियारद्वारा बयान
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्वभूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घूस प्रकरणमा सोधपुछ र बयान लिएको छ ।
बुधबार अख्तियारले श्रेष्ठसँग बयान लिएको स्रोतले जनाएको छ । कास्कीको पोखरा बाटुलेचौरस्थित लिची बगानको १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएकी पूर्वमन्त्री श्रेष्ठलाई अख्तियारले बयानका लागि बोलाएको थियो ।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस डिल प्रकरणमाथि आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको भन्दै बयानका लागि बोलाइएको स्रोतले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी पूर्वमन्त्री श्रेष्ठको भ्वाइस टेस्ट पनि लिइँदै छ । घूस प्रकरणमा सार्वजनिक भएको अडियोसँग मेल खान्छ कि खाँदैन भन्ने जाँच गर्नलाई श्रेष्ठको भ्वाइस टेस्ट लिइनेछ ।
मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस डिलको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।
पूर्वमन्त्री गुप्ता र उनीसँग घूस डिल गर्ने लामासँग अख्तियारले मंगलबार बयान थालेको छ । दुवै जनाको आवाज पनि परीक्षणका लागि रेकर्ड गराइएको अख्तियार स्रोतले जनाएको छ । केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँदा सक्कली पुष्टि भएको अख्तियारका एक अधिकारीले जानकारी दिए ।
पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ÷खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइएको उच्च स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया