विद्या भण्डारीलाई सबक सिकाउने निर्णय, ओलीको शक्तिशाली कदम

काठमाडौं । एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नवीकरण रोकिदिएको छ ।

एमालेले नवीकरण मात्र होइन कि कुनै पनि दलमा आवद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरित हुने समेत स्मरण गराएको छ ।

ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा मंगलबार र सोमबार बसेको केन्द्रीय कमिटीको नवौं बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउने विषयले पार्टीको गम्भीर ध्यानआकर्षण भएको उल्लेख छ ।

एमालेले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने तर्क गरिहँदा संविधानको भाग ६ का विभिन्न धाराहरू स्मरण गराइएको छ ।

‘नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्रध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवर्द्धक, सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ’ संविधानलाई उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ ।

संविधानले यति गहन जिम्मेवारी दिएको व्यक्तिले फेरि राजनीतिमा फर्किएर दलको सदस्य हुने, नेता हुने विषय कल्पना गर्न नसकिने प्रमुख गौतमले बताएका छन् ।

एमालेले विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनलाई अस्वीकार गरेको छ ।

आठ वटा कारण देखाउँदै एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्काउने विषयमा बिराम लगाएको छ ।

‘मुलुकको राष्ट्रध्यक्ष, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको पालनाकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपती, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई उच्च सम्मान गर्दै पूर्वराष्ट्रपति कै भूमिकामा बस्न आग्रह गरेको छ ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्किन नदिएर बोल्ड निर्णय गरेका छन् । भण्डारीलाई एमालेको राजनीतिमा फर्किन नदिने निर्णयको विपक्षमा जम्मा ३ जना नेताहरू देखिएका छन् । युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र कर्णबहादुर थापा मात्रै पूर्वराष्ट्रपतिको पक्षमा देखिएका छन् । बाँकी सबै पदाधिकारी र केन्द्रीय सदस्यहरू भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिने पक्षमा देखिएका छन् ।

Published : Wednesday, 2025 July 23, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया