सौर्यको जहाज दुर्घटना प्रतिवेदन, प्राधिकरणका महानिर्देशक अधिकारीको लापरबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरबाहीका कारण सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको घटना बाहिरिएपछि खैलाबैला भएको छ ।

सौर्यको जहाज आकस्मिक नभई प्राधिकरणको शृंखलाबद्ध कमजोरीको परिणाम भएको अध्ययन प्रतिवेदनले प्रस्ट पारेको छ । सरकारले गठन गरेको जाँचबुझ आयोगले टेकअफका क्रममा पाइलटले पिच रेट अत्याधिक बढाएकाले जहाजको अगाडिको भाग नोज मापदण्डभन्दा माथि उचालिएर जहाजको गति घट्दा डिप स्टल भई दुर्घटना भएको निष्कर्ष दिएको छ ।

२०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटना भएकै दिन सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो ।

यो तत्कालीन कारण मात्रै भएको देखिन्छ । जहाज दुर्घटनामा संलग्न प्रमुख पाइलटले यसअघि पनि यो लगायतकै गल्ती गर्दै आएको आयोगले फेला पारेको छ । सौर्यले त्रुटिपूर्ण स्पिड कार्ड अपनाउँदै आएको पाइएको छ ।

गैरव्यावसायिक उडानको योजना, तयारी र सञ्चालनमा पनि लापरबाही भेटिएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग फेरि (गैरव्यावसायिक) उडानको अनुमति दिने प्रक्रिया स्पष्ट नभएको देखिन्छ । शृंखलाबद्ध कमजोरीमा संलग्न संस्था र निकायलाई जवाफदेही बनाउनु र आवश्यकताअनुसार कारबाहीको दायरामा ल्याउन सक्दा आगामी दिनमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न पोखरातर्फ उड्न खोजेको ५० सिट क्षमताको क्यानेडियन बमबार्डियर जेट सीआरजे–२०० विमान धावनमार्ग छाडेको चार सेकेन्डमा दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । हाल उनी ग्राउन्डेड छन् ।

मृत्यु हुने १८ मध्ये सौर्यका १२ जना इन्जिनियर र प्राविधिक थिए । उडान ६ हजार १ सय ८५ घण्टा उडान अनुभव भएका शाक्यले गरेका थिए ।

प्रतिवेदनले पाइलटका कमजोरी, सौर्य एयरलाइन्सको लापरबाही र हवाई यात्रालाई सुरक्षित राख्न विकास गरिएका मापदण्ड लागू गराउन नसक्ने नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको कमजोरीलाई उजागर गरेको छ । प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारी छन् । अधिकारीले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि हवाई दुर्घटनाहरू निकै बढेका छन् । नेपाली आकाश असुरक्षित रहेको भन्दै चिन्ता बढ्दै गएको छ । अधिकारी विभिन्न काण्डहरूमा पर्दै आएका छन् । अधिकारीलाई कारबाही गर्नुको साटो संरक्षण गरेर राखिएको भन्दै प्राधिकरणभित्रै असन्तुष्टि छ ।

सीआरजे जहाज टेकअफ हुँदा पिच रेट ३ डिग्री प्रतिसेकेन्ड आवश्यक पर्छ । दुर्घटनामा परेको विमानको त्यस दिनको पिच रेट ५ दशमलव ५ डिग्री प्रतिसेकेन्ड पुगेको अनुसन्धानमा देखिएको छ । सौर्य एयरलाइन्सका अरू उडानमा पनि तोकिएको मापदण्डभन्दा बढी पिच रेटमा जहाज उडाउने गरेको आयोगले फेला पारेको छ ।

पोखराका लागि भएको फेरि फ्लाइटको योजना, तयारी र सञ्चालनमा पनि ठूलो लापरबाही रहेको, सामान लोड गर्दा सौर्यका कर्मचारीले तौल मापन नगरी हचुवामा लोडसिटमा तौल अंक राखेको, सामानलाई सुरक्षित तरिकाले डोरीले नबाँधेको, मापदण्ड उल्लंघन गरेको, हतारमा तयारी गरेको, जहाजको ग्यालरीमा अत्यधिक ज्वलनशील र खतरनाक रासायनिक पदार्थ राखेको भेटिएको छ ।

नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग फेरि फ्लाइटको अनुमति दिने प्रक्रिया स्पष्ट नभएको, जहाजमा हुने स्पिड कार्ड जाँच गर्ने सामग्रीको अभाव, जहाजमा सामान बाँध्ने प्रक्रियामा कडाइका साथ अनुगमन तथा निरीक्षण नहुने गरेको, गैरव्यावसायिक व्यक्तिहरूलाई नाफा नहुने उडानमा राख्न प्रतिबन्ध लगाउने कानून नभएको देखाएको छ ।

कमजोरी थाहा हुँदाहुँदै सुधार नगर्ने, मापदण्डको पालना नगर्ने विमान कम्पनीलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आफ्नो अनुगमन र निगरानीलाई बलियो बनाउनुपर्छ ।

Published : Sunday, 2025 July 20, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया