कम्युनिस्ट नेताको जन्मोत्सवमा गीत गाउन पुगे दाङका सीडीओ लम्साल

घोराही । जिल्ला प्रशासन कार्यालय, दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्साल विवादमा परेका छन् ।

जिल्लाको शान्ति सुरक्षा र प्राकृतिक विपत्तिको तयारी गर्नुपर्ने बेला सीडीओ लम्सालले कम्युनिस्ट नेताको जन्मोत्सव धुमधामका साथ मनाएका छन् । दाङमा कम्युनिस्ट पार्टीका एक नेताको जन्मोत्सव मनाउने क्रममा सीडीओ लम्सालले गीत गाएका छन् । थपडी मारेका छन् । भिडियोमा सीडीओ लम्साल उभिएर थपडी मारेर गीत गाएका छन् । सीडीओ लम्सालको गीतमा कम्युनिस्ट नेता छमछमी नाचेको देख्न सकिन्छ ।

कम्युनिस्ट नेताको जन्मोत्सव मनाउने कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु र स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठसहितका कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू उपस्थित भिडियोमा देख्न सकिन्छ । सीडीओ लम्सालले गीत गाएको र कम्युनिस्ट नेता नाचेको भिडियो टिकटकमा भाइरल बनेको छ ।

लम्सालले सीडीओ पदको गरिमालाई हल्का रुपमा लिएर गीत गाउँन हिँडेपछि दाङमा विरोध भएको छ । सीडीओ लम्साललाई तत्काल कारबाही गरेर हटाउन माग उठेको छ । आफ्नो औकात र हैसियतको बारेमा थाहा नपाउने लम्साल बिगतमा पनि विवादमा पर्दै आएका थिए ।

सीडीओ पदको गरिमा र भूमिकालाई लम्सालले जिम्मेवारीका साथ बहन गर्न नसकेको भनेर स्थानीयले प्रश्न उठाएका छन् । लम्साल सबै जनताको सीडीओ हुन् वा एमालेको मात्रै सीडीओ हुन् प्रश्न उठेको छ ।

विगतमा दाङमा रहेका लम्सालकाे भूमिका त्यस बेला पनि राम्राे थिएन भनेर टिप्पणी भएका थिए । राजनीतिक शक्ति लगाएर दाङको सीडीओ बनेर आएका लम्साल आजकाल एमालेका नेता कार्यकर्ताहरूको जन्मोत्सवमा गीत गाउने र थपडी बजादै हिँड्ने गरेको चर्चा घोराहीमा चलेको छ ।

Published : Wednesday, 2025 July 16, 10:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया