धादिङ कांग्रेसका पूर्वसभापति उप्रेतीको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस धादिङका पूर्व जिल्ला सभापति ९७ वर्षीय भरतप्रसाद उप्रेतीको निधन भएको छ ।
शनिबार दिउँसो २ बजेर ३० मिनटमा काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
विक्रम संवत् १९८५ पौष २९ गते धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ कटीछापमा जन्मिएका उप्रेतीले विक्रम संवत् २००७ मा निरंकुश राणा शासनका विरुद्ध तथा प्रजातन्त्र स्थापनाको आन्दोलनमा पर्चा र अन्य सामग्री आदान–प्रदान गर्ने क्रममा भूमिगत भएका थिए ।
नेपाली कांग्रेसको तत्कालीन केन्द्रीय कार्यालय जैसीदेवल, काठमाडौंमा उप्रेतीले कृष्णप्रसाद भट्टराईबाट पार्टी सदस्यता प्राप्त गरेका थिए ।
विक्रम संवत् २०१५ को प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तत्कालीन निर्वाचन क्षेत्र नं. १०६ बाट उप्रेती नेपाली कांग्रेसको उम्मेदवार भएका थिए ।
विक्रम संवत् २०१७ साल पुस १ गते प्रजातन्त्र अपदस्थ गरिएपछि २०२६ सम्म उप्रेतीले भारतको नरकटियागञ्ज, कलकत्ता, बनारस लगायतका ठाउँमा निर्वासित जीवन बिताएका थिए ।
निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य तथा प्रजातन्त्र पुनर्स्थापनाको संघर्ष तथा आन्दोलनहरूका क्रममा उप्रेतीले पटक–पटक जेल जीवन बिताएका थिए ।
विक्रम संवत् २०१९ देखि विभिन्न समयमा गरी विक्रम संवत् २०५३ सम्म उप्रेतीले नेपाली कांग्रेस धादिङको जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
विक्रम संवत् २०४८ को आमनिर्वाचनमा उप्रेती धादिङ जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको उम्मेदवार भएका थिए ।
‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरू तथा सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण, सामाजिक एवं राजनीतिक जागरण र मानव अधिकारको रक्षामा उप्रेतीले निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहनेछ,’ कांग्रेसले भनेको छ ।
‘उहाँको सरल, सादगी, शालीन र प्रेरणादायी जीवनशैली अनुकरणीय रहेको छ,’ कांग्रेसले भनेको छ, ‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको छ ।’
उप्रेतीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेस धादिङका पूर्व सभापति एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा भरतप्रसाद उप्रेतीको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुखित् बनाएको छ,’ देउवाले भने, ‘स्व.उप्रेतीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।’
‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ देउवाले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया