अनुशासनको कारबाहीबारे शेखर समूहले सभापति देउवासँग कुरा गर्ने, भेलामा अर्जुननरसिंहको रहस्यमयी उपस्थिति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय अनुशासन समितिको कारबाहीका विषयमा सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने भएका छन् ।
बिहीबार काठमाडौंमा बसेको शेखर समूहको गुटको भेलामा सभापति देउवासँग अनुशासन समितिको निर्णयका विषयमा परामर्श गर्ने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन् । समितिले नेताहरूमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेको निष्कर्षसहित प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।
शेखर समूहको गुटको भेलाले अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेता गुरुराज घिमिरेले बताएका छन् ।
घिमिरेले पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ वर्षपछि कारबाहीको निर्णय बाहिर आउनु आफैँमा विधान र नियमावलीविपरीत रहेको बताए ।
घिमिरेले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने गरी पक्षपातपूर्ण र गुट प्रेरित ढंगले कारबाही भएको आरोप लगाए । यस विषयमा नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गर्ने घिमिरेले बताएका छन् ।
नेता घिमिरेले सचेत गराउँदा हुनेमा राजनीति सिध्याउन खोजिएको शेखर समूहको निष्कर्ष रहेको बताए ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने भन्ने सहमतिविपरीत कारबाहीको निर्णय आएको शेखर समूहको भनाइ छ ।
अनुशासनको कारबाहीमा पर्नेहरूमा अधिकांश शेखर समूहका छन् । महामन्त्री गगन थापाको दवावमामा अनुशासन समितिले शेखर समूहका नेताहरूलाई कारबाही गरेको चर्चा चलेको छ । शेखर समूहको भेलामा महामन्त्री थापा अनुपस्थित रहेका छन् । यद्यपि, महामन्त्री थापाका ससुरा अर्जुननरसिंह के.सी. भने शेखर समूहको भेलामा उपस्थित रहेका थिए ।
शेखर समूह र गगन समूहबीच १५औँ महाधिवेशनलाई लिएर ठूलो अन्तरद्वन्द्व छ । विनोद चौधरीको दवावमा महामन्त्री थापाले शेखर समूहका नेताहरूलाई कारबाही गरेको आरोप छ । केन्द्रीय कार्यसमितिको बैठकमा गगन समूहका केन्द्रीय सदस्य प्रकाश रसाईलीले खुलेरै विनोद चौधरीको बचाउ गरेका थिए । महामन्त्री थापाले पार्टीभित्र अनुशासनहीनता बढेको भन्दै कारबाहीको संकेत गरेका थिए । यस्तो अवस्थामा शेखर समूहलाई समाप्त पार्ने गरेर अनुशासनको कारबाही हुँदा गम्भीर प्रश्न उठेको छ । शेखर समूहको गुटको भेलामा महामन्त्री थापा अनुपस्थित भए । थापा निकटका कुनै पनि नेताहरू आएनन् । केसीले चर्का कुरा गरेर बाहिरिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया