उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथद्वारा दाङको गोरक्षरत्ननाथ बाबाको दर्शन र पूजा

मसुरिया । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दाङको चौघेरामा रहेको श्री गोरक्षपात्र सिद्धरत्ननाथ देवताको दर्शन गरेका छन् ।

शनिबार मुख्यमन्त्री आदित्यनाथले उत्तरप्रदेशको तुलसीपुरस्थित देवीपाटनमा गोरक्षरत्ननाथ बाबाको दर्शन तथा विधिअनुसार पूर्जाअर्चना गरेका हुन् । गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई चौघेराबाट देवीपाटन लगिएको छ । मूर्तिलाई एक हप्ता देवीपाटनमा राखिनेछ । त्यसपछि दाङ फर्काइनेछ । सदियौँदेखि रतननाथ बाबाको मूर्तिलाई प्रत्येक वर्ष देवीपाटनमा लैजाने परम्परा छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले दाङबाट रतननाथ बाबाको मूर्ति लिएरआइपुगेका साधु सन्तहरूलाई स्वागत गर्नुका साथै खानपिन तथा बसोबासका विषयमा पनि चासो राखेका थिए । उनले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्ध अदभूत रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका पूर्वसांसद अभिषेकप्रताप शाहले नेपाल र भारतबीच अद्भूत सांस्कृतिक र धार्मिमक सम्बन्ध रहेको बताए । उनले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथज्यूका साथै भारतीय जनताहरूले नेपालप्रति कति धेरै धार्मिक र सांस्कृतिक रुपमा आस्था राख्छन् भन्ने कुरा गोरक्षरत्ननाथ बाबाको देवीपाटनको यात्रा र मुख्यमन्त्रीज्यू सबै काम छाडेर देवीपाटनमा आएर दर्शन गर्नुले पनि देखाउँछ ।’

यसअघि, उत्तर प्रदेशस्थित देवीपाटनमा गोरक्षरत्ननाथ बाबाको मूर्ति र नेपालबाट गएका साधु सन्तहरूलाई भव्य स्वागत गरिएको छ । उत्तर प्रदेशस्थित देवीपाटनमा नेपालबाट भव्य शोभायात्रासहित पुगेका बाबा रतननाथलाई हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पणसमेत गरिएको छ ।

हरेक वर्षको पञ्चमी तिथिमा बाबा रतननाथ भगवानको उत्तर प्रदेशस्थित देवीपाटन मन्दिरमा विशेष पूजा गरिन्छ । सोही पूजाका लागि नेपालबाट शोभायात्रासहित बाबा रतननाथलाई देवीपाटनसम्म लैजाने परम्परा छ ।

देवीपाटन मन्दिरमा रतननाथ बाबाको पिर र अमृत पात्रलाई पूजा गर्ने गरिन्छ । गोरक्षरत्ननाथ (रतननाथ) भगवानलाई भारतको मन्दिरमा भब्यताका साथ पूजा गरिन्छ । यो परम्परा वार्षौंदेखि चल्दै आएको छ ।

गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई उत्तर प्रदेशको देवीपाटनमा लैजाने परम्पराले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक सम्बन्धलाई मजबुत बनाएको स्थानीयहरूको भनाइ छ ।

यो थारूहरूको पुर्खाहरूले चलाउँदै आएको परम्परा मानिन्छ । सिद्ध पीर बाबा रतननाथको संरक्षण पनि थारूहरूले गर्दै आएका छन् ।

शोभायात्रामा नेपाल–भारत सहकार्य, थारू कल्याकारिणी सभा, थारू महिला समाज, मगर समाज, स्थानीय क्लबहरूको सहभागिता रहेको थियो ।

देवीपाटन नेपालका सिद्ध योगी बाबा रतननाथको शक्ति उपासना स्थलको रूपमा पनि चिनिने गर्छ ।

महायोग गुरु गोरखनाथका शिष्य थिए, रतननाथ योगी । गोरखनाथको आदेशपछि रतननाथले देवीपाटन मन्दिरको स्थापना गरेका थिए । उनले देवीपाटनमा वर्षौंसम्म तपस्या गरेका थिए । जसअनुसार उनले त्यहाँबाट ८ प्रकारका सिद्धी प्राप्त गरेको बताइन्छ । तपस्याका दौरान माता पाटेश्वरीले योगीलाई दर्शन दिँदै पञ्चमीदेखि नवमीसम्म पूजा गर्नुपर्ने वरदान दिएको जानकारहरू बताउँछन् । त्यही बेलादेखि बाबा रतननाथलाई प्रत्येक वर्ष देवीपाटनसम्म विशेष शोभायात्रा र पूजाआजा गर्ने चलन छ ।

Published : Sunday, 2025 April 6, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया