तीनकुने हिंसाबारे आईजीपी थापाद्वारा ब्रिफिङ, प्रसाईं स्टेप बाइ स्टेप कदम चालेर फरार
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले राजावादीहरूले स–साना झुण्डहरू बनाएर हिंसात्मक घटनाहरू गराएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आईजीपी थापाले राजावादीहरूले चैत १५ मा गरेको प्रदर्शनमा ३०/४० जनाका झुण्ड भएर आगजनी र लुटपाट गरेको बताए । उनले शान्तिपूर्ण कार्यक्रम गर्ने भनेर अनुमति लिएको तर, अराजकता मच्चाएको बताए ।
आईजीपी थापाले भने, ‘शान्तिपूर्वक कार्यक्रम गर्छौं भनेर रुट र भेन्यू समेत लिएका थिए । समाजवादी मोर्चाको पनि कार्यक्रम रहेकाले कुनै पनि झडप नहोस् भनेर सुरक्षा रणनीति बनाइएको थियो ।
‘राजावादी जुन आन्दोलन भनिएको छ त्यसमा ३९ भन्दा बढी समूह छन् । सानासाना जुलुस निकालिए र मञ्च पनि बनाएको छ’, थापाले भने, ‘त्यसअनुसार सुरक्षा दियौं । शान्तिपूर्वक गर्छौं भनेर गरिएको प्रदर्शन भीड, हिंसा, लुटपाट, तोडफोड, आगजनीमा उत्रियो । त्यसपछि हाम्रो रणनीतिअनुसार अगाडि बढ्न केही असहज भयो ।’
उनले भने, ‘कार्यक्रम सुरु हुनु पहिले नै झडप भयो र मञ्चमा बसेर उत्तेजक भाषण पनि भइराखेको थियो । झुन्ड–झुन्ड थियो । ३०/४० जनाको झुन्ड भएर यहाँ हान, यहाँ हान भनिरहेका थिए । अराजक झुन्डमा गएर आगजनी, लुटपाट गरिएको छ ।’
उनले घटनाको स्थिति ४ घण्टामा नियन्त्रणमा लिइएको बताएका छन् । कफ्र्यु लगाएर स्थिति नियन्त्रणमा लिइएको उनले बताए ।
आईजीपी थापाले तीनकुनेको घटनामा राज्यविरुद्धको अपराध र संगठित अपराध तथा आपराधिक उपद्रोमा मुद्दा दर्ता गरिएको बताएका छन् । राज्यविरुद्धको अपराध र संगठित अपराधमा संलग्न भएका २० जनालाई पक्राउ गरिएको र अन्य ५८ जनालाई आपराधिक उपद्रोमा पक्राउ गरेर म्याद थप गरिएको थापाले बताए ।
आईजीपी थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् । सो घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा चलाएको उनले बताए ।
‘मूल समात्नका लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसूरमा हो भनेर हेर्दैछौं’, आईजीप थापाले भने, ‘जो मान्छे आपराधिक कार्य गर्छ उसले गिरफ्तारी दिँदैन ।’
उनले १५ गते घटना घटेको दिन आफूहरू रातभर प्रसाईंको खोजीमा लागेको बताएका छन् । प्रसाईंले स्टेप बाइ स्टेप कदम चालेर भागेको देखिएको आईजीपी थापाले बताएका छन् ।
‘हामीले त्यही दिन रातभरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हे¥यौं । स्टेप बाइ स्टेप भागेको देखिन्छ । उहाँ (दुर्गा प्रसाईं) विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको छ’, आईजीपी थापाले भने ।
‘कति दिनमा समात्न सकिन्छ भन्ने विषयमा जुन पक्राउ हुन्छ हामी समात्छौं । ल्याएपछि कानूनी दायरामा लैजान्छौं’, थापाले भने ।
आईजीपी थापाले म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् । उनले भने, ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्यान नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया