गगनजी तपाईलाई १८ करोडमा कांग्रेस किनेको दाग लागेको छ, हिम्मत छभने कारबाही गरे हुन्छ : जीतजंग बस्नेत

बरहथवा । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले कारबाहीको धम्कीले आफूहरूलाई एक ईञ्च पनि तनाब नरहेको बताएका छन् ।

नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत शनिबार बरहथवामा सर्लाही कांग्रेसको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले गगन थापाले १८ करोडमा नेपाली कांग्रेसलाई किनेको बताए । उनले निर्वाचन आयोगले १८ करोडमा कांग्रेसको चारतारे झण्डा र रुख चिन्हलाई गगन थापासँग खरिद बिक्री गरेको बताए । सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीले कांग्रेसलाई ३ करोडमा बेचेको आरोप लागेको पनि उनले बताए ।

कांग्रेस नेता बस्नेतले राष्ट्रिय सभा, प्रतिनिधि सभा र स्थानीय तहका जनप्रतिनिधिहरूलाई कारबाही गर्ने भनेर गगन थापाले दिएको धम्कीबाट आफूहरू नडराएको बताए ।

उनले भने, ‘गगनजीले भनेको कुरा मैले सुनेको थिएँ सोसल मिडियामा । कारबाही गर्छु राष्ट्रिय सभाका सदस्यहरूलाई, प्रतिनिधि सभाका सदस्यहरूलाई कारबाही गुर्छ, अनि हाम्रा स्थानीय निकायका निर्वाचित साथीहरूलाई कारबाही गर्छु भनेको मैले सुनेको थिएँ । मैले मञ्चबाट भन्न चाहन्छु । हिम्मत छ, तागत छ, आँट छभने कारबाही गरेर देखाए हुन्छ । यो लास र दासको पार्टी होइन । हामी कारबाहीबाट डराउँदैनौँ ।’

‘हामी आम नेपाली जनताको हकहितको लागि हिजो पनि लडेका थियौं, आज पनि लड्छौं, भोलि पनि लड्नको लागि राजनीति गर्न आएको हो,’ नेता बस्नेतले भने, ‘हामी तपाई जस्तो पेसा गर्न राजनीतिमा आएको होइन ।’

नेता बस्नेतले भने, ‘हामी युवाहरूलाई नेतृत्वमा ल्याउन चाहन्छौँ । हामी आफूभन्दा अगाडिका नेताहरूलाई सम्मान गर्न चाहन्छौँ । हामी आफ्नो ससुरालाई वरिष्ठ नेता बनाउने अनि चुनावमा चाहिँ महेन्द्रनारायण निधिको छोराको अनुहार बिक्दैन, वीपीका छोराको अनुहार बिक्दैन, गणेशमान सिंहको छोराको अनुहार बिक्दैन, नोना कोइरालाको छोराको अनुहार बिक्दैन भन्ने, हिजो पञ्चायतकालमा जसले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने अर्जुननरसिंह केसीको अनुहार बिक्यो त ? हामी नेतालाई सम्मान गर्न चाहन्छौँ । युवाहरूलाई साथ दिन चाहन्छौँ ।’

उनले भने, ‘आम नेपाली जनताले प्रश्न उठाएका छन् । नेपाली कांग्रेस किनबेचबाट तपाई (गगन थापा)ले पाउनु भएको छ । १८ करोडमा निर्वाचन आयोगमा नेपाली कांग्रेस बिक्यो । चार झाण्डा र रुख बिक्यो भन्ने आज प्रश्न उठेको छ । सर्वोच्च अदालतको न्यायाधीश श्रीमान् शारंगा सुवेदीले ३ करोड रुपियाँ लिएर नेपाली कांग्रेसलाई बेचियो भन्ने आरोप छ ।’

नेता बस्नेतले गगन थापामाथि भ्रष्टाचारको दाग लागेको बताए । उनले भने, ‘तपाईमाथि दाग लागेको छ । त्रिचन्द्र कलेजमा पनि तपाईमाथि भ्रष्टाचारको प्रश्न उठेको छ । तपाई स्वास्थ्यमन्त्री हुँदा करोडौंको भ्रष्टाचार गरेको प्रश्न उठेको छ । आज नेपाली कांग्रेस किनबेचको कुरा उठेको छ । भ्रष्टाचारको कुरा उठेको छ ।’

Published : Saturday, 2026 November 28, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया