कांग्रेस कसको हो भन्ने कुरा इतिहासले बताउँछ, स्वघोषणालाई आधिकारिक मान्न सकिदैन : नेता डा.महत
राजविराज । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने तथाकथित विशेष महाधिवसनवालाहरूको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
डा.महतले कांग्रेसको इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर कसैले स्वघोषणाका भरमा आधिकारिक कांग्रेसको दाबी गर्न नसक्ने बताए ।
नेपाली कांग्रेस १५औं महाधिवेशनअन्तर्गत शुक्रबार सप्तरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा.महतले कांग्रेस निर्माण गर्नेहरूकै पार्टी नहुने अवस्था कसरी आयो भन्दै प्रश्न गरेका छन् ।
कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउन कसैको नियोजित पात्र बनेर काम गर्नेहरूलाई नै कांग्रेसको वास्तविक उत्तराधिकारी मान्न नसकिने नेता डा.महतले बताएका छन् ।
‘नेपाली कांग्रेस जसले निर्माण ग¥यो, उसको नहुने, अनि कांग्रेस र प्रजातन्त्र कमजोर बनाउन कसैको नियोजित पात्र बन्छ, उसको कसरी हुन सक्छ ?,’ डा.महतले प्रश्न गरेका छन् ।
उनले नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफूहरूसँग रहेको बताएका छन् ।
१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, वीपी पुत्र प्रा.डा.शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिजस्ता वरिष्ठ नेताहरू आफूहरूसँगै रहेको डा.महतले बताए । उनले यही समूह नै आधिकारिक कांग्रेस भएको बताएका छन् ।
डा.महतले कुनै विधि र विधानले नचिनेको प्रक्रियाबाट स्वघोषणाका आधारमा बनेको नेतृत्वलाई आधिकारिक मान्न नसकिने बताए । कार्यकर्तालाई त्यस्ता विषयमा अलमलिन नहुने उनले बताएका छन् ।
उनले कांग्रेसको विचार, नीति र सिद्धान्तमा प्रतिबद्ध नेता तथा कार्यकर्तालाई सेवा–सुविधा कटौती हुने वा कारबाहीमा पर्ने डरबाट विचलित नहुन पनि आग्रह गरेका छन् ।
‘कांग्रेसको विचारमा लागेका नेता–कार्यकर्तालाई म भन्न चाहन्छु, हामी नीति, विचार र निष्ठा त्यागेर नियमित तलब र आयआर्जनका लागि राजनीतिमा लागेका होइनौँ,’ डा.महतले भने, ‘लोकतन्त्र र विधिका लागि हाम्रा अग्रजहरूले प्राण आहुति दिनसमेत तयार भएर काम गर्नुभयो । हामी पनि त्यही बाटोमा छौँ । त्यसैले तपाईं–हामी सेवा–सुविधा काटिन्छ कि भनेर डराउनुपर्ने अवस्था छैन ।’
उनको अभिव्यक्तिले कांग्रेसभित्र नियमित महाधिवेशनको प्रक्रियालाई लिएर चुलिएको विवाद थप सतहमा ल्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया