सीआईबीले मन्त्री र सचिव संलग्न ठूलो घोटालाको फाइल खोल्यो, तत्कालीन मुख्यसचिव घरमा छापा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको घरमा छापा मारेको छ ।
बिहीबार सीआईबीले अर्यालको काठमाडौंस्थित घरबाट दुई वटा ल्यापटप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । सीआइबीका एसएसपी अनुपमशम्शेर जबराले पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान गर्न ल्यापटप नियन्त्रणमा लिइएको जनाएका छन् ।
पूर्वमुख्यसचिव अर्याललाई मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो । पक्राउपछि प्रहरीले उनको घरमा छापा मारेर ल्यापटप लगायतका सामग्री बरामद गरेको हो ।
अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव थिए ।
मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानूनी रूपमा अतिरिक्त शुल्क उठाएर एक अर्ब ६९ करोड रुपियाँभन्दा बढी विदेश पठाइएको प्रकरणमा अर्याल पक्राउ परेका हुन् ।
मलेसिया प्रकरणमा प्रहरीले दुई जना पूर्वमन्त्रीसहित कर्मचारीहरूलाई पक्राउ गरिसकेको छ । मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक बायोमेडिकल सर्भिस चार्जका नाममा प्रतिश्रमिक थप १०० मलेसियन रिंगिट असुल गरिएको थियो ।
यसरी रकम असुल्न म्याक्रो टेक प्रा.लि. प्रयोग गरिएको प्रहरीको आरोप छ । मलेसिया प्रकरणका मुख्य आरोपी कैलाश खड्का हुन् । खड्काकै कम्पनी म्याक्रो टेकमार्फत श्रमिकबाट अतिरिक्त शुल्क उठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सात लाखभन्दा बढी नेपाली श्रमिकबाट यसरी रकम संकलन गरिएको थियो । नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) अनुसार मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपालमै गर्ने व्यवस्था गरिएको थियो । त्यसका लागि मलेसिया सरकारले नेपालमा म्याक्रो टेकलाई जिम्मेवारी दिएको थियो । स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने र श्रमिकले आफैले तिरेको अवस्थामा पहिलो महिनाको तलबसँगै फिर्ता पाउने व्यवस्था थियो ।
म्याक्रो टेकले निर्धारित शुल्कबाहेक थप १०० रिंगिट बायोमेडिकल सर्भिस चार्जका नाममा श्रमिकबाट उठाएको आरोप छ । मलेसियास्थित बेस्टिनेट कम्पनीले म्याक्रो टेकलाई आफ्नो सिस्टर कम्पनीका रूपमा चिनाउने गरेको पनि यस प्रकरणमा उल्लेख छ ।
श्रमिकबाट गैरकानूनी रूपमा संकलित रकममध्ये अमेरिकी डलर ८ करोड ३७ लाख ४३९.९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८०.८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपियाँ ७६ पैसा विदेश पठाइएको थियो । उक्त रकम १७ पटक गरी मलेसिया पठाइएको प्रहरीले जनाएको छ ।
रकम विदेश पठाउने निर्णय तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरका पालामा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया