१४औं महाधिवेशनबाट निर्वाचित सभापति नै आधिकारिक कांग्रेस हो : प्रा.डा.कोइराला
चन्द्रपुर । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन् ।
नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत रौतहट जिल्लाको अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै प्रा.डा.कोइरालाले आफूहरूले नेतृत्व गरेको कांग्रेस आधिकारिक कांग्रेस भएका कारण १५औं महाधिवेशन सम्पन्न गर्न लागेको बताए ।
उनले नेपालमा अहिलेको अर्थतन्त्रको जग नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको बताएका छन् ।
संयोजक प्रा.डा.कोइरालाले आर्थिक तथा बहुदलीय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बसाएको बताए । उनले भने, ‘२०४८ सालमा कांग्रेसको सरकारले गाउँगाँउमा बाटो, बिजुली, शिक्षा, स्वस्थ्यको आधारशिला तयार पारेको हो । त्यही सरकारले विश्वविद्यालयको संख्या एयरलाइन्सको संख्या बृद्धि गरेको हो ।’
उनले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेका कारण ३५ वर्षमा केही नभएको भाष्य बनेको बताए ।
नेपाली कांग्रेसको आदर्श र सिद्धान्त राम्रो भएका कारण साथीहरू सबै समेट्न सके कांग्रेस बलियो बन्ने संयोजक प्रा.डा.कोइरालाले बताएका छन् । उनले भने, ‘त्यसैले कांग्रेसले महाधिवेशनमार्फत् पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ ।’
गगन थापा समूहले १८ करोडमा नेपाली कांग्रेसको आधिकारिकता पाउन डिल गरेको अडियो सार्वजनिक भएका बेला शेरबहादुर देउउवा पक्षले वडादेखि निरन्तर अधिवेशन गर्दै आएको छ । कांग्रेसको १५औं नियमित महाधिवेशन अन्तर्गत मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन हुन लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया