कर्णाली कांग्रेसको अधिवेशन देउवाले १३ गते उद्घाटन गर्ने, गगन-पूर्णका कारण अदालत पुग्यो रुख
वीरेन्द्रनगर । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको अधिवेशन आगामी मंसिर १३ गते हुने कर्णाली कांग्रेसकी संयोजक रंगमती शाहीले बताएकी छिन् ।
बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेश संयोजक शाहीले जानकारी दिएकी छिन् । अधिवेशनलाई सभापति शेरबहादुर देउवाले गर्ने नेतृ शाहीले बताइन् । अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १ हजार २ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने संयोजक शाहीले बताएकी छिन् ।
प्रदेशस्तरीय अधिवेशनलाई लक्षित गरी व्यवस्थापन, मञ्च निर्माण, प्रतिनिधिको आवास तथा अन्य आवश्यक तयारी पूरा गरिएको सुर्खेत जिल्ला संयोजक ललित भट्टराईले बताए ।
पूर्वमन्त्री समेत रहेका नेता ऐनबहादुर शाहीसहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू अधिवेशन सफल बनाउन सक्रिय छन् ।
अधिवेशनमा प्रदेशमा पार्टीको सांगठनिक अवस्था, आगामी राजनीतिक रणनीति, कार्यकर्ता परिचालन तथा पार्टीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी कर्णाली प्रदेश संयोजक शाहीले पूर्णबहादुर खड्काले पनि पार्टीको रुख चिन्ह आन्तरिक रूपमा अपहरण गरेको आरोप लगाएकी छिन् ।
बाहिरी रूपमा गगन थापाले रुख चिन्ह खोस्ने काम गरेको र आन्तरिक रूपमा पूर्णबहादुर खड्काको पनि त्यसमा ठूलो हात रहेको नेतृ शाहीले बताएकी छिन् । उनले खड्का अब आफ्नो समूहको नेता नरहेको बताइन् ।
‘भित्र आन्तरिक रूपबाट रुख अपहरण गर्न पूर्णदाइको ठूलो हात छ,’ उनले भनिन्, ‘उहाँ हाम्रो सम्मानित नेता हुनुहुन्थ्यो । अब हाम्रो नेता हुनुहुन्न ।’
खड्कालाई शेरबहादुर देउवापछिको पहिलो नेताका रूपमा सम्मान गर्दै आएको उनले बताइन् । सोही कारण उनी देशको उपप्रधानमन्त्रीदेखि कार्यवाहक सभापतिसम्म बनेको शाहीले बताएकी छिन् ।
‘अहिले प्रस्ट देखिन्छ, उहाँ हामीसित हुनुहुन्न,’ नेतृ शाहीले भनिन्, ‘आज कांग्रेसको रुख सानेपाबाट खोसेर गगन थापा र पूर्ण दाइले नै अदालतमा बुझाउनुभएको हो । त्यसैले हामीले पूर्णबहादुर दाइलाई नेता त मान्थ्यौँ, मानेका पनि थियौँ । अब हाम्रो टिमले, शेरबहादुर देउवाको टिमले पूर्णबहादुर खड्कालाई नेता मान्दैनौँ ।’
खड्काले आफ्ना अधिकांश मान्छेलाई गगन कांग्रेसको अधिवेशनमा पठाइसकेको पनि नेतृ शाहीले बताएकी छिन् ।
गाउँगाउँमा प्रतिनिधिहरूलाई फोन गरेर धम्क्याएको र त्यसको रेकर्ड आफूसँग रहेको कर्णाली कांग्रेसकी संयोजक शाहीले बताएकी छिन् ।
‘त्यति मात्र होइन, गाउँगाउँमा सारा प्रतिनिधिहरूलाई फोन गरेर फलानो गयो, हलानो गयो, भाग् ले, तँ कहाँ फुत्किन्छस्, तँ त बर्बाद हुन्छस् भनेका हामीसित रेकर्डहरू छन् । अनि उहाँ हामीसित कसरी रहनुभयो ? उहाँ गगन कांग्रेस भइसक्नुभयो,’ संयोजक शाहीले भनिन् ।
नेतृ शाहीले अहिले कांग्रेस महाभारतको युद्धमा रहेको भन्दै पार्टीको रुख चिन्ह अदालतमा रहेको बताइन् । चुनाव चिन्ह न गगन थापासँग रहेको न आफूहरूसँग रहेको भन्दै नेतृ शाहीले कसले पाउने भन्ने लडाइँ जारी रहेको बताएकी छिन् ।
अद्यावधिक गराउँदैमा गगन थापाले जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार नपाउने पनि नेतृ शाहीले बताएकी छिन् ।
‘आज एकजना व्यक्तिले बाटोबाट अपहरण गरेको लिएर अदालतमा बुझाएको भरमा, धम्कीको भरमा मैले देशभरिका कांग्रेसका जनप्रतिनिधिलाई कारबाही गर्न सक्दिनँ । कोही भ्रममा नपर्नुस्,’ नेतृ शाहीले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया