महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउँछ, कांग्रेसलाई कसैले कमजोर बनाउन सक्दैन : संयोजक प्रा.डा.कोइराला
वीरगञ्ज । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीका अधिवेशन महाधिवेशनहरूलाई नेतृत्व परिवर्तन गर्ने, प्रतिष्पर्धा गर्ने अवसरका साथै पार्टी र संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
बिहीबार वीरगञ्जमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रा.डा.कोइरालाले भने, ‘पार्टी अधिवेशन÷महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिष्पर्धा हुन्छ । यो स्वभाविक हो । तर, हामीले अधिवेशन÷महाधिवेशनलाई पार्टीलाई एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ ।’
प्रा.डा.कोइरालाले अधिवेशन÷महाधिवेशनलाई पार्टीलाई एकताबद्ध बनाउने अवसरका रूपमा उपयोग गर्नसके कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताए ।
‘कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन् । वडादेखि केन्द्रसम्मका अधिवेशनमा हामी पार्टीलाई एकताबद्ध बनाउने अभियानका रूपमा उपयोग गर्न सके सबै चुनावमा कांग्रेस बलियो बन्छ,’ उनले भने ।
‘पद एउटा हुन्छ आकांक्षा राख्ने साथी धेरै हुन्छन्,’ संयोजक प्रा.डा.कोइरालाले भने, ‘हामीले अधिवेशनमा एकताबद्ध बनाउन सकेसबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ ।’
प्रा.डा.कोइरालाले वीपी कोइराला २०३३ सालमा नेपाल फर्कदा गणेशमानजीले फरक मत राखेको प्रशङ्ग उल्लेख गर्दै नेताले गरेको निर्णय सबैले पालना गर्नुपर्ने बताए ।
उनले भने, ‘३३ सालमा वीपीको नेपाल फर्कने निर्णयमा गणेशमाजी सहमत हुनुहुन्थेन तर, वीपीले नेपाल फर्कने निर्णय गरेपछि गणेशमानजीले वीपी मेरो नेता हो । उहाँले निर्णय गरेपछि मैले निर्णय मान्ने मेरो दायित्व हो भन्दै नेपाल फर्कनुभयो ।’
प्रा.डा.कोइरालाले वीपी कोइरालाको बाटोमा हामी हिँड्न सके सबै संकटबाट कांग्रेस र मुलुकलाई पार लगाउने बताए ।
‘वीपीले लिएको बाटो भनेको उहाँको अडान, उहाँको निर्णय गर्ने शैली, साथीहरूका कुरा सुन्ने धैर्यता, परिस्थितिको विश्लेषण गर्ने तरिका हो,’ उनले भने, ‘यी कुरा पछ्याउन सके हामीले जस्तोसुकै संकटबाट पनि पार पाउन सकिन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया