सिन्धुली कांग्रेसमा क्षेत्र र पालिका अधिवेशनहरु सम्पन्न, देउवा पक्षको जबरजस्त गतिविधि

दुधौली । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत सिन्धुपाली जिल्लामा पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् ।

दुधौली नगरपालिकामा नगर, क्षेत्रीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय संयुक्त अधिवेशन सम्पन्न गरेका छन् । कमला बहुमुखी क्याम्पसमा आयोजित अधिवेशनले पार्टीका चार तहका नेतृत्व चयन गर्दै संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अधिवेशनबाट दुधौली नगरपालिकाको नगर सभापतिमा वेदविक्रम कार्की चयन भएका छन् । क्षेत्रीय सभापतिमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) को सभापतिमा खुपेन्द्रराज भण्डारी र क्षेत्र नम्बर १ (२) को सभापतिमा गोपालबहादुर कार्की चयन भएका छन् ।

अधिवेशनले स्थानीय तहदेखि प्रदेशसभा निर्वाचन क्षेत्रसम्म संगठनात्मक नेतृत्वलाई व्यवस्थित गर्ने उद्देश्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ अन्तर्गतका प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) र १ (२) को संयुक्त भेला पनि सम्पन्न भएको छ । जिल्ला संयोजक खड्गबहादुर वाइबाको प्रमुख आतिथ्यमा आयोजित भेलाको सभापतित्व क्षेत्र नम्बर १ की क्षेत्रीय संयोजक अर्पणा खड्काले गरेकी थिइन् ।

भेलामा सरोज मैनाली, कृष्णमुरारी गुरुङ, एकिन्द्र पूर्वछाने, भगवान माझी, इन्दिरा वाइबा र प्रतापसिं वाइबासहित पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । भेलाले दुवै प्रदेशसभा निर्वाचन क्षेत्रका नवनिर्वाचित सभापतिहरू तथा सम्पूर्ण पदाधिकारी र समितिका सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

शेरबहादुर देउवा पक्षको यो संगठनात्मक गतिविधिलाई स्थानीय तहदेखि प्रदेशसभा निर्वाचन क्षेत्रसम्म पार्टी संरचनालाई क्रियाशील बनाउने प्रयासका रूपमा हेरिएको छ ।

विशेषगरी, नेतृत्व चयनसँगै संगठनभित्रको समन्वय, कार्यकर्ताको परिचालन र राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयले भेलामा महत्व पाएको छ ।

नेपाली कांग्रेसको संगठनात्मक परम्परा, लोकतान्त्रिक अभ्यास र पार्टीको आधिकारिक राजनीतिक तथा सांगठनिक कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेतृत्वको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

नवनिर्वाचित पदाधिकारीहरूले संगठन सुदृढीकरण, आपसी एकता र कार्यकर्ताबीचको समन्वयलाई प्राथमिकता दिनुपर्ने अपेक्षा गरिएको छ ।

Published : Wednesday, 2026 November 18, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया