कुख्यात गुण्डा नाइके मेघराज हतियारसहित घरबाटै पक्राउ
मलंगवा । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले ४८ वर्षीय मेघराज भन्ने बाबु थापालाई हतियारसहित पक्राउ गरेको छ ।
कर्तव्य ज्या मुद्दाका फरार प्रतिवादी थापालाई प्रहरीको टोलीले सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. १ बाट पेस्तोल तथा गोलीसहित पक्राउ गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आफ्नै घरमा सुतेको वस्थामा प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट मेड ईन युएसए लेखिएको पेस्तोल र नाम नखुलेको अर्को पेस्तोल तथा ३ थान म्यागेजिन र १५ राउण्ड गोली बरामद भएको छ ।
पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि, थापा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरेको पुष्टि भएपछि जन्मकैद सुनाइएका कैदी हुन् । थापा भदौ २३ र २४ जेनजी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका थिए ।
बुधबार थापा सार्लहीस्थित घर आएका बेला सर्लाही प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा उनको गाडी रोकेर गोली प्रहार गरिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन समयमा अनुसन्धान गर्दा चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेश हत्याको पृष्ठभूमिसँग जोडिएको तथ्य खुलाएको थियो ।
पार्टीको नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेपछि आयोगले केशव मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई वैधानिकता दिएको थियो । उक्त निर्णयविरुद्ध मैनाली सर्वोच्च अदालत पुगेका थिए ।
त्यसपछि न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । उक्त आदेशबाट असन्तुष्ट बनेका थापाले योजनाबद्ध रुपमा न्यायाधीश बमको गोली हानी हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी उपरक्षिक रविन्द्रनाथ पौडेलका अनुसार हतियारसहित घरबाटै पक्राउ परेका थापाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया