कांग्रेसको अधिवेशन चलिरहेका बेला चौलागाईंविरुद्ध जाहेरी दिन सीआईबीद्वारा आह्वान

काठमाडौं । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईंसहितका चार जनाविरुद्ध जाहेरी दरखास्त दिन प्रहरीले सूचना जारी गरेको छ ।

बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सूचना प्रकाशित गरेर पीडित व्यक्तिहरूले रामेछापको सुनापति गाउँपालिका वडा नं. १ बस्ने वर्ष ५९ का भरतप्रसाद चौलागाईं समेत ४ जनाविरुद्ध जाहेरी दिन आग्रह गरेको हो । चौलागाईं गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनमा सहभागी हुन रामेछाप जिल्ला गएका बेला मन्थली बजारबाट सीआईबीको टोलीले पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

चौलागाईं तिनै व्यक्ति हुन् जसले आफ्नो जन्मदिन मनाउन केकको लाइन लगाएर गगन थापामार्फत् केक काट्न लगाएर खाएका थिए । कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्ग र खुलामञ्चमा चलिरहेका बेला चौलागाईं भने प्रहरी हिरासतमा छन् ।

चौलागाईंसहित ४ जनाको समूहले नेपाल सरकार र इजरायल सरकारबीच ‘जी टू जी’ प्रक्रिया अन्तर्गत इजरायलको विशिष्ट श्रम बजार केयरगिभर रोजगारीका लागि भन्दै ठगी गरेको सीआईबीले जनाएको छ ।

कांग्रेस नेता चौलागाईंसहित ४ जनाको समूहले इजरायलमा केयरगिभरमा पठाउने भनेर २ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको जाहेरीपछि सीआईबीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

चौलागाईंसहितको ४ जनाको समूहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारसँग चिनजान रहेको भनेर इजरायलको केयरगिभरको प्रतिक्षा सूचीमा रहेका १ हजार १ सय ५२ जनामध्ये पहिलो चरणमा १ सय ५६ जना पीडित युवाहरूलाई लक्षित गरी मन्त्रिपरिषदबाट विशेष निर्णय गराई तत्काल इजरायल पठाइदिने झुठ्ठा आश्वासन दिइ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय फर्जी कागजात देखाइ योजनाबद्ध रुपमा २ करोड ५० लाखभन्दा धेरै रकम ठगी गरेको अभियोग छ ।

कांग्रेस नेता चौलागाईंसहितका समूहविरुद्ध विमल पराजुलीले असोज १ गते दिएको जाहेरीपछि सीआईबीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

Published : Wednesday, 2026 October 7, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया