ठूलो परिमाणको हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब २२ करोड रुपियाँ मूल्य पर्ने साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ ।

प्रहरी टोलीले थाइल्यान्डबाट काठमाडौं आएका भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन् ।

शनिबार बिहान विमानस्थलमा गरिएको नियमित जाँचका क्रममा उनको लगेजभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर लागुऔषध ल्याएका थिए । बरामद गरिएको हेरोइनको अवैध बजार मूल्य करीब २२ करोड रुपियाँ रहेको अनुमान गरिएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका टिघारेको यसअघि लाओसबाट काठमाडौं हुँदै भारत गएको यात्रा विवरण पनि भेटिएको छ । उनले जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियालगायत देशको भ्रमण गरेको खुलेको छ ।

Published : Sunday, 2026 November 15, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया