बागमती कांग्रेसका सभापति एवं पूर्वमुख्यमन्त्री बानियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ बाट अत्यधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

क्षेत्रीय प्रतिनिधिहरूको विश्वाससहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित बानियाँले प्राप्त मतलाई व्यक्तिगत उपलब्धिभन्दा पनि पार्टीप्रतिको कार्यकर्ताको विश्वास र जिम्मेवारीका रूपमा लिएका छन् ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बानियाँले राजनीति पद, प्रतिष्ठा वा व्यवसायका लागि नभई जनताको सेवाका लागि हुनुपर्ने धारणा अघि सार्दै आएका छन् । ‘राजनीति भनेको जनताको सेवा हो, व्यवसाय होइन’ भन्ने मान्यतालाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाउँदै आएका बानियाँले जनताको समृद्धिलाई नै देशको समृद्धिसँग जोडेर हेर्ने गरेका छन् ।

उनको राजनीतिक दृष्टिकोणमा जनप्रतिनिधिको वास्तविक सफलता जनताको जीवनमा देखिने परिवर्तनसँग जोडिन्छ । जनता समृद्ध भए देश समृद्ध हुने र जनताको सेवा गर्ने जनप्रतिनिधिले पनि आफूलाई समृद्ध भएको अनुभूति गर्ने उनको धारणा छ ।

बानियाँले आफू बाँचुन्जेल जनताको सेवामा समर्पित रहने बताउँदै आएका छन् । मकवानपुरबाट कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका बानियाँ अहिले पार्टीको बागमती प्रदेश नेतृत्वमा छन् । प्रदेश सभापतिको जिम्मेवारीसँगै उनी पार्टी संगठन विस्तार, कार्यकर्तासँगको सम्बन्ध र जनताका सवाललाई राजनीतिको केन्द्रमा राख्ने विषयमा जोड दिँदै आएका छन् ।

१५औँ महाधिवेशनको प्रक्रियामा मकवानपुर–१ बाट अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा बानियाँको विजयलाई उनको संगठनात्मक प्रभाव र कार्यकर्तासँगको निरन्तर सम्बन्धसँग जोडेर हेरिएको छ ।

महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त नयाँ जिम्मेवारीसँगै बानियाँ अब कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुँदैछन् । जनताको सेवा, पार्टी संगठनको सुदृढीकरण र कांग्रेसलाई सबै पुस्ताको साझा राजनीतिक घरका रूपमा अघि बढाउने प्रतिबद्धतालाई उनले आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका छन् ।

Published : Friday, 2026 October 2, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया